Nov 03 2026 | २०८३ कार्तिक १८ गते

नागरिकताविहीन शान्तिदेवीले ६२ वर्षको उमेरमा पाइन् नागरिकता

नागरिकताविहीन शान्तिदेवीले ६२ वर्षको उमेरमा पाइन् नागरिकता

मंगलवार, कार्तिक १८ २०८३
  • काठमाडौँ । जीवनका ६२ वर्ष बितिसक्दा पनि नेपाली नागरिकताको प्रमाणपत्र पाउन नसकेकी सिस्ने गाउँपालिका–७ नाथीगाडकी शान्तिदेवी नेपालीले अन्ततः नागरिकता पाएकी छन्। जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वकी प्रमुख जिल्ला अधिकारी कोपिला राईले उहाँलाई नागरिकताको प्रमाणपत्र हस्तान्तरण गरेकी हुन्।

    वि.सं. २०२१ सालमा जन्मिएकी शान्तिदेवीको नागरिकता बन्न नसक्नुका पछाडि पारिवारिक तथा परिस्थितिजन्य जटिलता थिए। उनी सानै उमेरमा भारत गएकी थिइन्। पछि सिस्ने गाउँपालिका–७ मा विवाह गरेर आएकी उनको श्रीमान्को मृत्यु भएपछि नागरिकता बनाउने प्रक्रिया थप कठिन बनेको थियो।बाल्यकालमै भारत गएकाले उनलाई आफ्नो माइतीघरको पहिचान गर्नसमेत मुस्किल परेको थियो। माइती पक्षको पारिवारिक विवरण तथा नागरिकता बनाउन आवश्यक पहिचानसम्बन्धी जानकारी जुटाउन नसक्दा उनी लामो समयसम्म नागरिकताबाट वञ्चित हुनुपरेको थियो।

    images

    नागरिकता प्राप्तिका लागि आवश्यक प्रक्रिया पूरा गर्न करिब एक साता लागेको थियो। आफन्तजन तथा नाति किरण विश्वकर्माको सहयोग र जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वको सहजीकरणपछि अन्ततः उनले नागरिकता प्राप्त गर्न सफल भएकी हुन्। ६२ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र हात पर्दा शान्तिदेवीका लागि यो केवल एउटा सरकारी कागजात प्राप्त गर्नु मात्रै रहेन। लामो समयदेखि नागरिक पहिचानविहीन अवस्थामा रहेकी उनले अब कानुनी रूपमा आफ्नो पहिचान स्थापित गरेकी छन्। नागरिकता प्राप्त भएसँगै राज्यबाट उपलब्ध हुने विभिन्न सेवा, सुविधा तथा अधिकारमा पहुँच स्थापित गर्ने बाटोसमेत खुलेको छ।

    नागरिकता व्यक्तिको पहिचान र राज्यसँगको कानुनी सम्बन्ध स्थापित गर्ने महत्वपूर्ण दस्तावेज हो। तर, विभिन्न पारिवारिक, सामाजिक तथा अन्य परिस्थितिका कारण अझै पनि कतिपय नागरिक नागरिकताको प्रमाणपत्रबाट वञ्चित हुनुपर्ने अवस्था छ। शान्तिदेवी नेपालीको यो घटनाले नागरिकता प्राप्त गर्न नसकेका व्यक्तिका लागि आफन्तजनको सहयोग र सम्बन्धित प्रशासनिक निकायको सहजीकरण कति महत्वपूर्ण हुन्छ भन्ने देखाएको छ। लामो प्रतीक्षापछि नागरिकता पाएपछि शान्तिदेवी पनि उत्साहित भएकी छन्।।

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार