काठमाडौँ । नेपाली कांग्रेसका नेता डा प्रकाशशरण महतले (देउवा समूह) पार्टीको १५ औँ महाधिवेशन मङ्सिर २१, २२ र २३ गते काठमाडौंमा हुने बताएका छन्।
मंगलबार पार्टी सम्पर्क कार्यालय चुनदेवीमा आयोजित पत्रकार भेटघाटमा उनले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा महाधिवेशन सम्पन्न हुने र त्यसपछि नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गरिने बताए।
महाधिवेशनको तयारीबारे जानकारी दिँदै नेता महतले हालसम्म ६१८ पालिका, २२८ प्रदेशसभा निर्वाचन क्षेत्र र ११४ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न भएको जानकारी दिए। त्यस्तै, २६ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भइसकेको र थप चार जिल्लामा प्रक्रिया अघि बढिरहेको उनले जानकारी दिए।
छोटो समयमै देशभरका पार्टी कार्यकर्ताको उत्साहपूर्ण सहभागितामा अधिवेशन प्रक्रिया अघि बढिरहेको उल्लेख गर्दै उनले विभिन्न तहका अधिवेशन स्थानीय कार्यकर्ताले आफ्नै स्रोतसाधन र स्वैच्छिक सहयोगमा सम्पन्न गरिरहेको बताए।
विशेष अधिवेशनबाट आएको नेतृत्वलाई निर्वाचन आयोगले दिएको मान्यतामाथि प्रश्न उठाउँदै महतले त्यससम्बन्धी विवादमा सर्वोच्च अदालतमा पुनरावलोकन प्रक्रिया अघि बढिरहेको बताए।
अदालतको पुनरावलोकनबाट देउवा नेतृत्वकै कांग्रेसले आधिकारिक मान्यता पाउने उनको विश्वास छ। उनले विशेष अधिवेशनको प्रक्रिया विधि र विधानअनुसार नभएको दाबी गर्दै त्यसलाई मान्यता दिलाउन भएका भनिएका गतिविधिबारे गहिरो अनुसन्धान हुनुपर्ने माग गरे।
महतले नेपाली कांग्रेसको वैचारिक तथा सांगठनिक पहिचानसमेत विशेष अधिवेशनबाट आएको नेतृत्वले जोगाउन नसकेको आरोप लगाए। बीपी कोइरालाले अघि सारेको प्रजातान्त्रिक समाजवादी विचार र पार्टीभित्र सहमतिका आधारमा निर्णय गर्ने परम्परालाई आफूहरूले निरन्तरता दिइरहेको उनको भनाइ छ।
उनले देशभरका नेता तथा कार्यकर्तालाई मङ्सिर २१ देखि हुने १५ औँ महाधिवेशन प्रक्रियामा सहभागी हुन आग्रह गरे।



