काठमाडौँ । नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेला मंगलबार नेपाल आइपुगेका छन् ।
भारतले दलेलालाई नेपालका लागि नयाँ राजदूतमा सिफारिस गरेको थियो । उनको नाममा नेपालले सहमति (एग्रिमो) दिएपछि भारतले नियुक्त गरेर नेपाल पठाएको हो ।
नवीन श्रीवास्तव आफ्नो कार्यकाल पूरा गरेर भारत फर्किएपछि भारतले उनको ठाउँमा दलेलालाई प्रस्ताव गरेको थियो ।
दलेला सन् १९९३ मा भारतीय परराष्ट्र सेवामा प्रवेश गरेका थिए । उनले आफ्नो कूटनीतिक यात्रा इजरायलबाट सुरु गरेका हुन् । उनले ब्रासिलिया, सिकागो, ढाका, जेनेभा, थिम्पु र वासिङ्टन डीसीस्थित भारतीय नियोगहरूमा सेवा गरिसकेका छन् ।
उनले भुटानका लागि भारतीय राजदूतका रूपमा समेत काम गरेका थिए । सन् २०२५ सेप्टेम्बरदेखि उनी भारतीय विदेश मन्त्रालयमा सचिव (आर्थिक सम्बन्ध) का रूपमा कार्यरत थिए ।
प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा जाने तयारी भइरहेका बेला भारतले नयाँ राजदूत पठाएको हो ।



