Nov 05 2026 | २०८३ कार्तिक २० गते

समाचार

यस्तो आउँदैछ मानसिक स्वास्थ्यसम्बन्धी विधेयक

यस्तो आउँदैछ मानसिक स्वास्थ्यसम्बन्धी विधेयक

बिहिवार, कार्तिक २० २०८३
  • काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नागरिकको मानसिक स्वास्थ्य अधिकार सुनिश्चित गर्न भन्दै ‘मानसिक स्वास्थ्य सम्बन्धी विधेयकको अवधारणा–पत्र’ तयार पारेको छ ।

    नेपालको संविधानले स्वास्थ्य, समानता र सम्मानपूर्वक बाँच्न पाउने हकको प्रत्याभूति गरे पनि मानसिक स्वास्थ्यलाई पर्याप्त महत्व नदिइँदा समस्या जटिल बन्दै गएको भन्दै यो विधेयक तर्जुमा गर्न लागिएको जनाएको छ ।

    images
    मन्त्रिपरिषद्को असोज १९ गते बसेको बैठकबाट विधेयकको तर्जुमा गर्ने सिद्धान्त स्वीकृत भइसकेको छ । 
    संविधानको धारा ३५(३) ले स्वास्थ्य सेवामा समान पहुँच र धारा १६ ले सम्मानपूर्वक बाँच्न पाउने हक सुनिश्चित गरेको परिप्रेक्ष्यमा मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरूपतिको नकारात्मक व्यवहार तथा लान्छनालाई दण्डनीय बनाउन कानुन अपरिहार्य भएको अवधारणा–पत्रमा उल्लेख छ ।
     
    स्वास्थ्य सेवा प्रवाह संघ, प्रदेश र स्थानीय तहको साझा अधिकारको विषय भएकाले मानसिक स्वास्थ्य सेवाको प्रभावकारी विस्तार, समन्वय र नियमनका लागि यो विशिष्ट संघीय कानुन आवश्यक छ ।
     
    स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा मानसिक स्वास्थ्य र मनोसामाजिक समस्याको भार दिगो रूपमा बढ्दै गएको छ, जसअनुसार समग्र रोगहरूको भार मध्ये लगभग १५ प्रतिशत भार मानसिक स्वास्थ्यले ओगटेको छ ।

    विभिन्न अध्ययन प्रतिवेदनहरूले नेपालका ७.२ प्रतिशत व्यक्तिहरूमा आत्महत्या सम्बन्धी सोच वा व्यवहार देखिएको देखाएका छन् । नेपाल प्रहरीको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन अनुसार देशभर ७,२२१ आत्महत्या सम्बन्धी घटनाहरू दर्ता भएका छन् ।

    विभिन्न अध्ययनबाट नेपालमा मृत्युका प्रमुख १० कारणहरूमध्ये आत्म–हानी नवौँ स्थानमा रहेको पाइएको छ । पछिल्लो एक दशकमा आत्महत्याका कारण हुने मृत्युदर प्रतिलाख जनसंख्यामा ०.७ ले वृद्धि भएको तथ्याङ्कले देखाएको छ । यस कारण पनि मानसिक स्वास्थ्यसम्बन्धी कार्यक्रम तर्जुमा गर्न ऐन आवश्यक छ ।

    विश्वव्यापी मानवअधिकारसम्बन्धी घोषणापत्र, दिगो विकास लक्ष्य, मानसिक स्वास्थ्य एक्स्न प्लान (२०१३–२०३०) र अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धिलगायत अन्तर्राष्ट्रिय दस्तावेजहरूप्रतिको प्रतिबद्वता पूरा गर्न नेपालमा यो कानुन तर्जुमा गर्नुपर्ने अन्तर्राष्ट्रिय दायित्व छ ।

    साथै, सम्मानित सर्वोच्च अदालतले पनि विभिन्न रिट निवेदनहरूमा कारागारका मानसिक रोगीहरूको उपचार गर्न, बजेटको निश्चित प्रतिशत अनिवार्य विनियोजन गर्न तथा विभेदकारी कानुनहरूको संशोधन एवं परिमार्जनका लागि परमादेश र निर्देशनात्मक आदेशहरू जारी गरेको छ ।

    सरकारले अगाडि सार्दै आएका राष्ट्रिय स्वास्थ्य नीति २०७६, आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम र बजेट वक्तव्यले मानसिक स्वास्थ्यलाई सार्वजनिक स्वास्थ्यको अभिन्न अङ्ग मानेका छन् । नेपालमा कुल रोगहरूको भारमध्ये लगभग १५ प्रतिशत भार मानसिक तथा मनोसामाजिक समस्याले ओगटेको छ । यसले कुल गार्हस्थ्य उत्पादनको करिब ०.४४ प्रतिशत आर्थिक क्षति पुर्‍याउने अनुमान गरिएको छ ।

    त्यस्तै, ७८ प्रतिशत मानसिक स्वास्थ्य बिरामीहरू अझै पनि उपचारको पहुँच बाहिर हुनु र आत्महत्याका घटनाहरू बढ्नुले नयाँ कानुनको आवश्यकता प्रस्ट्याएको अवधारणापत्रमा उल्लेख छ ।

    भारतको ‘मेन्टल हेल्थ केयर एक्ट २०१७’, बंगलादेशको ‘मेन्टल हेल्थ एक्ट २०१८’ र थाइल्याण्डको ‘मेन्टल हेल्थ एक्ट २००८’ लाई अध्ययन गरी नेपालले पनि आधुनिक र अधिकारमुखी कानुन निर्माणको प्रक्रिया अगाडि बढाइएको छ ।

    यो ऐन कार्यान्वयनमा आएपछि मानसिक स्वास्थ्यको बुझाइमा एकरूपता आउने, आत्महत्या रोकथामका बहुक्षेत्रीय कार्यक्रमहरू सुदृढ हुने, समाजमा रहेको कलंक तथा विभेद घटेर जाने र मानसिक तथा मनोसामाजिक अपाङ्गता भएका व्यक्तिहरूको मानव अधिकारको पूर्ण संरक्षण हुने अपेक्षा गरिएको छ ।  

    प्रस्तावित विधेयकमा मानसिक स्वास्थ्य संस्था, मनोचिकित्सक, आकस्मिक उपचार, सूचित सहमति , समर्थित निर्णय प्रणाली, आत्महत्या रोकथाम, बाल्यकालको मानसिक तनाव न्यूनीकरण तथा संघ, प्रदेश र स्थानीय तहबीचको समन्वयसम्बन्धी बृहत् व्यवस्था समेटिनेछन् ।

    कानुन कार्यान्वयनका लागि संघीय तहमा छुट्टै मानसिक स्वास्थ्य डिभिजन वा इकाई स्थापना गर्नुका साथै विद्यमान संरचना र जनशक्तिको सुदृढीकरण तथा पुनर्संरचनामार्फत स्रोतको दक्ष परिचालन गरिने अवधारणापत्रमा उल्लेख छ । 

    यस ऐनको कार्यान्वयनमार्फत मानसिक स्वास्थ्यको बुझाइमा एकरुपता ल्याउने तथा व्यक्तिको मानसिक सुस्वास्थ्य प्रवद्र्धन गरी स्वस्थ जीवनशैली, उत्पादकता र सामाजिक सहभागिता अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ ।

    साथै, मानसिक स्वास्थ्य प्रणालीलाई सुदृढ गर्दै प्राथमिक स्वास्थ्य सेवामा यसको प्रभावकारी एकीकृतकरण, प्रभावकारी प्रेषण प्रणाली र गुणस्तरीय सेवाको विस्तार हुनेछ ।

    मानसिक स्वास्थ्य सेवामा सबैको समान पहुँच सुनिश्चित गर्दै गुणस्तरीय, सुलभ तथा किफायती उपचार, हेरचाह र पुनस्थापना सेवाहरू विस्तार गरिने विषय समेटिएको छ ।

    नयाँ व्यवस्थाले आत्महत्या रोकथामका लागि बहुक्षेत्रीय कार्यक्रमहरू सुदृढ बनाई आत्महत्या दरमा उल्लेखनीय कमी ल्याउने अपेक्षा गरिएको छ । समाजमा मानसिक रोगप्रतिको कलंक र विभेद न्यूनीकरण गरी बिरामीहरूले सहजै सेवा पाउने वातावरण बन्नुका साथै परिवार, समुदाय र कार्यस्थलमा सहकार्यको वातावरण बलियो हुने उल्लेख छ ।

    कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट राय र सहमति प्राप्त गरी मन्त्रिपरिषद्बाट सिद्धान्त स्वीकृति लिइसकेपछि विज्ञ, सरोकारवाला निकाय, अर्थ मन्त्रालय र महान्याधिवक्ताको कार्यालयको परामर्श एवं सहमतिमा विधेयकको मस्यौदालाई अन्तिम रूप दिइनेछ । 

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार