काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले लामो समयदेखि अलपत्र अवस्थामा रहेका रौतहटका तीन ठूला पूर्वाधार आयोजनाको ठेक्का तोडेर नयाँ प्रक्रियामार्फत काम अघि बढाइएको घोषणा गरेका छन्
विगत १० वर्षदेखि निर्माण सम्पन्न हुन नसकेका र पटक-पटक म्याद थप गर्दा पनि काम अघि नबढेका आयोजनाहरूका कारण सर्वसाधारणले सास्ती भोग्नुपरेकाले ठेक्का रद्द गर्ने निर्णयमा पुगिएको मन्त्री लम्सालले बताए ।
मन्त्री लम्सालका अनुसार ठेक्का तोडिएका आयोजनाहरूमा चन्द्रनिगाहपुर-गौर सडक अन्तर्गतको लमाहा खोला पुल र चपुर-सुकदेव चोक-लौकाहा सडक खण्डको लौकाहा खोला पुल रहेका छन्। यी दुवै पुल निर्माणका लागि २०७३ साल चैत २१ गते पप्पु र शिवशंकर जेभी, गरुडा, रौतहटसँग सम्झौता भएको थियो। सम्झौता अनुसार २०७५/७६ भित्रै निर्माण सम्पन्न हुनुपर्ने भए पनि पटक-पटक म्याद थपेर अन्तिम समयसीमा २०८० असार ३० गतेसम्म पुर्याउँदा समेत काम सकिएको थिएन।
त्यसैगरी, महेन्द्र राजमार्गको धनसार-बागमती खण्डमा सडक स्तरोन्नति तथा पुनर्स्थापनाका लागि भएको ठेक्का सम्झौता अनुसार गत आर्थिक वर्षभित्र सम्पन्न हुनुपर्ने कामको भौतिक प्रगति शून्य देखिएपछि उक्त ठेक्का पनि तोड्ने निर्णय गरिएको मन्त्री लम्सालले जानकारी दिए ।
'देशभरका रुग्ण बनेका आयोजनाहरू सम्पन्न हुने स्पष्ट आधार भेटिएमा अन्तिम मौका दिइनेछ,' मन्त्री लम्सालले भने, 'तर काम हुने सम्भावना नदेखिए ठेक्का तोडेर नयाँ प्रक्रियाबाट बाँकी काम सम्पन्न गर्ने विषयमा हामी स्पष्ट छौँ।'
स्थानीयवासीले लामो समयदेखि आवागमनमा सास्ती भोग्दै आएकाले यी आयोजनाहरूलाई अब नयाँ प्रक्रियामार्फत तीव्रताका साथ अघि बढाइने मन्त्रालयले जनाएको छ।



