काठमाडौं । अमेरिकामा जारी मध्यावधि निर्वाचनसँगै भइरहेको राज्य सांसद तथा स्थानीय निकायको निर्वाचनमा नेपाली मूलका अमेरिकन पनि चुनावी प्रतिस्पर्धामा छन्।
मेरिल्यान्ड हाउस अफ डेलिगेट्सका लागि २ जना नेपाली अमेरिकन चुनावी प्रतिस्पर्धामा छन् भने न्युयोर्क स्टेट एसेम्बली तथा न्यू हेम्पसायर हाउस अफ रिप्रिजेन्टेटिभ्सका लागि एक–एक जना नेपाली अमेरिकन प्रतिस्पर्धामा छन्। यसैगरी, कोलोराडो राज्यको टाउन अफ ईरीको काउन्सिल मेम्बरका लागि एक जना नेपाली अमेरिकन उम्मेद्वार छन्।
अमेरिकाको मूलधारको राजनीतिमा नेपाली मूलको अमेरिकनको सहभागिता बढाउन भूमिका खेलेका र पहिलो नेपाली मूलको अमेरिकनको रूपमा राज्य सांसद बनेका डा. ह्यारी भण्डारी तेस्रोपटक राज्य सांसद बन्न प्रतिस्पर्धामा छन्। उनी तेस्रोपटक मेरिल्यान्ड हाउस अफ डेलि गेट्स बन्न डिष्ट्रिक्ट ८ वाट चुनावमा प्रतिस्पर्धी छन्।
यसअघि सन् २०१८ र सन् २०२२ मा उनी राज्य सांसद निर्वाचित भई २०१९ देखि पहिलो कार्यकाल र २०२३ देखि दोस्रो कार्यकाल राज्य सांसदको रूपमा जिम्मेवारी निभाइसकेका छन्।
करिब ७ वर्ष ९ महिनादेखि राज्य सांसद रहेका डा. भण्डारी डेमोक्रेटिक पार्टीबाट उम्मेद्वार छन्। उनी प्राथमिक निर्वाचन जित्दै डेमोक्रेटिक पार्टीका उम्मेद्वार बनेका हुन्। यस डिष्ट्रिक्टबाट ३ जना राज्य सांसद चुनिन्छन्। जनसंख्याको अवस्था हेरेर कतिपय डिष्ट्रिक्टवाट एकभन्दा बढी चुनिने व्यवस्था रहेको छ। यसलाई बहुसदस्यीय निर्वाचन क्षेत्र पनि भनिन्छ।
यसैगरी, वहालवाला न्युयोर्क स्टेट एसेम्ब्ली वेमेन रहेकी सराहना श्रेष्ठले पनि तेस्रोपटक स्टेट एसेम्बलीमा प्रतिस्पर्धा गरिरहेकी छन्। २ वर्षको कार्यकाल रहने न्युयोर्क स्टेट एसेम्बलीमा २०२२ देखि २ पटक एसेम्ब्ली मेम्बरको रूपमा श्रेष्ठले सेवा गरिसकेकी छन्। उनी डिष्ट्रिक्ट १ सय ३ वाट प्रतिस्पर्धामा छिन्। २ पटक प्राइमरी इलेक्सन लडेर डेमोक्रेटिक उम्मेद्वार भई राज्य सांसद निर्वाचित भएकी श्रेष्ठ तेस्रोपटक राज्य सांसदको उम्मेदवार बन्न डेमोक्रेटिक पार्टीबाट निर्विरोध भएकी थिइन्। यस डिष्ट्रिक्टबाट एक जना निर्वाचित हुन्छन्।
यसैगरी, मेरिल्यान्ड हाउस अफ डेलिगेट्सको प्रतिस्पर्धामा नेपाली मूलका अमेरिकन पत्रकारिता पृष्ठभूमिका सतिश चापागाईं पनि प्रतिस्पर्धामा छन्। प्राइमरी इलेक्सन जितेर डेमोक्रेटिक पार्टीबाट प्रतिस्पर्धामा रहेका चापागाई को डिष्ट्रिक्ट ७ ए हो। यस डिष्ट्रिक्टबाट २ जना राज्य सांसद निर्वाचित हुनेछन्। लामो समयदेखि नेपाल हुँदा र अमेरिका आइसकेपछि पनि सामुदायिक पत्रकारिता र सामाजिक अभियानमा सक्रिय चापागाई डेमोक्रेटिक पार्टी मेरिल्यान्डका केन्द्रीय सदस्य पनि हुन्।
यस्तै, न्यू ह्याम्प्सायर हाउस अफ रिप्रिजेन्टेटिभ्सका लागि विश्वबहादुर शाह प्रतिस्पर्धामा छन्। उनी डेमोक्रेटिक पार्टीबाट प्राइमरी जित्दै राज्य सांसदको उम्मेदवार बनेका हुन्। २ वर्षको कार्यकाल रहने हाउस अफ रिप्रिजेन्टेटिभ्समा उनी डिष्ट्रिक्ट ४१ वाट प्रतिस्पर्धामा छन्। यस डिष्ट्रिक्टबाट ३ जना निर्वाचित हुनेछन्।
यता, कोलोराडो राज्यको टाउन अफ ईरीमा काउन्सिल सदस्यका लागि डिष्ट्रिक्ट २ वाट दीपक बस्नेतले प्रतिस्पर्धा गरिरहेका छन्। हाल अमेरिकामा ३ राज्य सांसद, एक जना सिटीका उपमेयर र केही सिटीमा काउन्सिल सदस्यहरू नेपालीमूलका अमेरिकन छन्।



