Nov 04 2026 | २०८३ कार्तिक १९ गते

देशभर जेनजी शहीद दिवस मनाइयो

देशभर जेनजी शहीद दिवस मनाइयो

मंगलवार, भाद्र २३ २०८३
  • काठमाडौं । जेनजी शहीद दिवस बिभिन्न कार्यक्रमको आयोजना गर्दै मंगलबार देशभर मनाइएको छ। गत बर्ष भदौ २३ गते भएको जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा जेनजी शहीद दिवस मनाइएको हो । आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले जेनजी शहीद दिवस मनाउने निर्णय गरेको थियो।

    भ्रष्टाचार नियन्त्रण, राजनीतिक जवाफदेहिता, सार्वजनिक संस्थामा सुधार, रोजगारी सिर्जना, अवसरमा समानता, पारदर्शिता र राज्य सञ्चालनमा नयाँ पुस्ताको सहभागीता हुनुपर्ने माग राख्दै भएको जेनजी आन्दोलनमा ७६ जनाले ज्यान गुमाएका थिए भने सरकारले ४५ जनालाई सहिद घोषणा गरेको थियो।

    images

    जेनजी सहिद दिवसका अवसरमा जेनजी सहिद परिवार कल्याणकारी समाजले काठमाडौंको नयाँ बानेश्वरमा विशेष कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा गृहमन्त्री सहित सरकारका मन्त्रीहरु लगायत जेनजी सहिद परिवारहरुको उपस्थीति रहेको थियो । जेनजी सहिद परिवारहरुले जेनजी आन्दोलनमा दमन गर्नेलाई कारवाही गर्न माग गरेका थिए।

    जेनजी सहिद परिवार कल्याणकारी समाजका उपाध्यक्ष बसन्त किशोर श्रेष्ठले जेनजी आन्दोलनमा दमन गर्नेलाई वर्तमान सरकारले कुनै हालतमा नछोडी कडा कानुनी कारबाही गर्नुपर्ने बताए । उनले विगतको अन्तरिम सरकारसँग जनमत नभएका कारण धेरै काम गर्न नसकेको तर वर्तमान सरकार दुई–तिहाइ बहुमत प्राप्त बलियो सरकार भएकाले जेनजीको भावना अनुसार काम गर्ने धारण राखे।

    जेनजी शहीद परिवारहरुले वर्तमान सरकारले सहिद परिवार तथा घाइतेहरूको भावना र योगदानलाई कदर गर्दै माया दर्शाएकोमा सरकारप्रति धन्यवाद दिदै भ्रष्टाचारमुक्त शासन, सुशासन र देशको समृद्धिका लागि सरकार दृढताका साथ अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन्।

    आन्दोलनमार्फत तत्कालीन सरकार विघटन भई पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो । चूनावपछि गठन भएको वर्तमान बालेन्द्र शाह नेतृत्वको सरकारले भाद्र २३ गतेलाई जेनजी सहिद दिवस मनाउने निर्णय गर्दै देशभर सार्वजनिक बिदा दिएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार