काठमाडौं । पोखराको लेकसाइडमा सञ्चालित चारतारे बुटिक होटल ‘हेरिटेज होटल सुइट्स एन्ड स्पा’ बैंकको कर्जा चुक्ता नभएपछि लिलामी प्रक्रियामा परेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र हिमालयन बैंकको सहवित्तीयकरण अन्तर्गत लिएको कर्जा चुक्ता नभएपछि दुवै बैंकले होटलको धितोमा रहेको घरजग्गा लिलाम बिक्री गर्न लागेका हुन्।
बैंकले होटल सञ्चालकलाई कर्जाको सम्पूर्ण साँवा, ब्याज, हर्जाना तथा अन्य दस्तुर चुक्ता गर्न सात दिनको समय दिएको छ । तोकिएको अवधिभित्र कर्जा चुक्ता नभए धितोमा राखिएको सम्पत्ति गोप्य शिलबन्दी बोलपत्रमार्फत लिलाम बिक्री गर्ने बैंकले जनाएको छ।
हेरिटेज होटल एन्ड स्वीट्स प्रालिको नाममा कास्कीको पोखरा महानगरपालिका–६ मा दर्ता रहेको कित्ता नम्बर १२६ को १ हजार १०८.८५ वर्गमिटर र कित्ता नम्बर २८ को १ हजार १०४.४० वर्गमिटर क्षेत्रफलको घरजग्गा बैंकमा धितो राखिएको छ।
लिलामीका लागि भदौ २४ गतेसम्म बोलपत्र पेश गर्न सकिने र प्राप्त बोलपत्र भदौ २६ गते दिउँसो २ बजे हिमालयन बैंकको न्युरोड शाखा, काठमाडौंमा खोलिने जनाएको छ। होटल सञ्चालक रविचन्द्र हमाल ठकुरी र संगीता हमाल ठकुरी हुन्।
बैंकको करिब १ अर्ब रुपैयाँ कर्जासहित होटलमा २ अर्ब रुपैयाँ बढी लगानी भइसकेको छ । तर, कोभिड–१९ महामारीका कारण पर्यटन व्यवसाय प्रभावित भएपछि होटलको आम्दानीमा असर परेको र कर्जा तथा ब्याजको भार बढ्दै गएपछि आर्थिक समस्या देखिएको हो।
पोखराको लेकसाइडमा पाँच रोपनी क्षेत्रफलमा फैलिएको हेरिटेज होटललाई सञ्चालक पक्षले नेपाली मौलिक कला, वास्तुकला र आतिथ्यको संयोजन भएको बुटिक होटलका रूपमा अघि सारेको छ।
होटलमा भक्तपुरको इँटा तथा बुङमती र पाटनका करिब १५० जना कालिगढको सीप प्रयोग गरिएको छ । २०७२ सालको भूकम्पमा क्षतिग्रस्त भएका केही पुराना घरका काष्ठकला, झ्याल तथा ढोकासमेत संकलन गरेर होटलमा प्रयोग गरिएको सञ्चालक पक्षले जनाएको छ।
नेपालका मौलिक कला, संस्कृति, परम्परा तथा वास्तुकलालाई पर्यटनमार्फत संरक्षण र जीवन्त राख्ने उद्देश्यले होटल निर्माण गरिएको बताइएको छ । होटल परिसरमा पुराना कलाकृति, हस्तकला तथा वास्तुकलाका सामग्रीलाई आधुनिक आतिथ्य सेवासँग जोडेर प्रस्तुत गरिएको छ।
होटलमा अन्नपूर्ण, लाङटाङ र एभरेस्ट नामका तीन भवन छन् । कुल ६० कोठा रहेको होटलमा १८ वटा सुइट तथा सेमी–सुइट र ४२ वटा स्ट्यान्डर्ड रुम छन् । हेल्थ क्लब, स्टिम, साउना, ज्याकुजी, स्पा, स्विमिङ पुल, रेस्टुरेन्ट तथा बारलगायतका सुविधा पनि होटलमा छन्।
होटलको निर्माण २०६७ सालमा सुरु भएको थियो । करिब आठ वर्ष लगाएर निर्माण सम्पन्न भएको होटल २०७५ असोजदेखि आंशिक रूपमा सञ्चालनमा आएको थियो । पूर्णरूपमा सञ्चालनमा आएर व्यवसायले गति लिन नपाउँदै कोरोना महामारीका कारण होटलको व्यवसाय प्रभावित भएको थियो।
फेवातालबाट करिब १२३ मिटरको दूरीमा रहेको होटलले नेपाली आतिथ्य संस्कार ‘अतिथि देवो भवः’लाई आफ्नो सेवा दर्शनका रूपमा अघि सारेको जनाएको छ । पोखराको प्राकृतिक सौन्दर्य, हिमाल, ताल तथा साहसिक पर्यटनसँग होटलको पहिचान जोड्दै नेपाली कला र संस्कृतिको अनुभव दिने उद्देश्य राखिएको होटलको भनाइ छ।



