काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको क्षतिको वस्तुगत मूल्याङ्कन गरी पुनर्निर्माण र क्षतिपूर्तिका लागि स्पष्ट कार्ययोजना निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
मंगलबारको राष्ट्रिय सभा बैठकमा विशेष सम्बोधन गर्दै अध्यक्ष दाहालले विपद्को क्षति तत्कालको मानवीय सङ्कटमा मात्र सीमित नभई आवास, सडक, पुल, विद्युत्, खानेपानी र स्वास्थ्य जस्ता अत्यावश्यक पूर्वाधारमा समेत गम्भीर असर परेको बताए।
अध्यक्ष दाहालले क्षतिको यथार्थ र क्षेत्रगत मूल्याङ्कनका लागि ‘पोस्ट डिजास्टर निड्स एसेसमेन्ट’ लगायतका प्रक्रिया शीघ्र अघि बढाउन आग्रह गरे । ‘क्षतिको आधारमा राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि सरकारले स्पष्ट कार्ययोजना बनाएर काम गर्नुपर्छ,’ उनले भने,।
विपद् व्यवस्थापनका लागि पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउनुपर्नेमा जोड दिँदै अध्यक्ष दाहालले हिमाली तथा नदी तटीय क्षेत्रमा ‘अन्तरदेशीय सूचना आदानप्रदान प्रणाली’ को संयन्त्र निर्माण गर्न आवश्यक रहेको बताए । उनले जोखिम नक्साङ्कन र सुरक्षित बस्ती विकासका लागि तत्कालीन र दीर्घकालीन रणनीति अपनाउन सरकारलाई सुझाव दिए ।
केही दिनअघि कम्बोडियाको फ्नोम पेनमा सम्पन्न दोस्रो अन्तर(व्यवस्थापकीय सभामुख/अध्यक्ष सम्मेलन )मा आफूले नेपालको विनाशकारी बाढी र जलवायु परिवर्तनको असरबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएको जानकारी गराए।
‘जलवायु परिवर्तनमा न्यून भूमिका भए पनि नेपालजस्ता राष्ट्रहरू अरूको कारण सिर्जित संकटबाट पीडित भइरहेका छन्। यस्ता राष्ट्रका लागि विशेष अन्तर्राष्ट्रिय कोषको व्यवस्था गर्न मैले विश्व समुदायसँग अपिल गरेको छु,’ उनले भने ।
विपद्को बेला प्रशासनिक सीमा र राजनीतिक आस्थाभन्दा माथि उठेर काम गर्नुपर्नेमा अध्यक्ष दाहालको जोड थियो। उनले भने, ‘विपत्तिका विरुद्ध लड्न पार्टी सङ्गठनभन्दा माथि उठेर एउटा ठोस योजनाका साथ राष्ट्रिय एकता कायम गरी अगाडि बढ्न म सरकारको ध्यानाकर्षण गराउँदछु।’
अध्यक्ष दाहालले सङ्घ, प्रदेश र स्थानीय तहबिचको समन्वयलाई अझ सुदृढ गर्दै एकीकृत रूपमा उद्धार र पुनर्निर्माणमा जुट्न अपिल गरे।



