Nov 04 2026 | २०८३ कार्तिक १९ गते

भोटेकोशीको विनाशकारी बाढीले राष्ट्रिय सभा मर्माहत, एकीकृत समन्वयका लागि अध्यक्ष दाहालको आह्वान

भोटेकोशीको विनाशकारी बाढीले राष्ट्रिय सभा मर्माहत, एकीकृत समन्वयका लागि अध्यक्ष दाहालको आह्वान

मंगलवार, भाद्र १६ २०८३
  • काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक र विनाशकारी बाढीका कारण भएको ठुलो मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

    अध्यक्ष दाहालले मंगलबारको राष्ट्रिय सभा बैठकमा रसुवा, नुवाकोट, धादिङ र चितवन लगायतका जिल्लाका तटीय क्षेत्रमा बाढीले पुर्‍याएको क्षतिले राष्ट्रिय सभालाई गम्भीर र मर्माहत बनाएको उल्लेख गरेका हुन्।

    images

    अध्यक्ष दाहालले नेपाल बाढी, पहिरो, भूकम्प र महामारी जस्ता प्राकृतिक एवं मानव सृजित विपद्को उच्च जोखिममा रहेको स्मरण गराए।

    विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको भूमिका अत्यन्त न्यून भए पनि जलवायु परिवर्तनको प्रतिकूल प्रभाव भोग्ने देशहरूको अग्रपङ्क्तिमा नेपाल पर्नु दुःखद यथार्थ रहेको उनले बताए।

    यस दुखद घडीमा ज्यान गुमाउने नेपाली तथा मित्रराष्ट्रका नागरिकहरूप्रति राष्ट्रिय सभाको तर्फबाट हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै अध्यक्ष दाहालले शोकसन्तप्त परिवारजन र सम्पूर्ण राष्ट्रप्रति गहिरो समवेदना व्यक्त गरे।साथै, बाढीमा परी सम्पर्कविहीन भएका स्वदेशी तथा विदेशी नागरिकहरू छिटो सम्पर्कमा आउने कामना समेत गरे।

    आफ्नो ज्यानको जोखिम मोलेर खोज, उद्धार, उपचार र राहत कार्यमा अहोरात्र खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय प्रशासन, स्वास्थ्यकर्मी र स्वयंसेवकहरूलाई उहाँले विशेष धन्यवाद दिए । यस्तै, मानवीय उद्धारमा सहयोग पुर्‍याउने मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय समुदायप्रति राष्ट्रिय सभाको तर्फबाट आभार प्रकट गरिएको छ।

    अध्यक्ष दाहालले सङ्घीयताको मर्म र संविधानको भावना अनुरूप विपद् व्यवस्थापनमा सङ्घ, प्रदेश र स्थानीय तहका सरकारले एकीकृत र समन्वयात्मक ढङ्गले काम गर्नुपर्नेमा जोड दिए।

    विपद्को यस कठिन समयमा सबै निकायले आ९आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्ने उनले विश्वास व्यक्त गरेका छन् । राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले क्षतिको वास्तविक विवरण सङ्कलन गरिरहेको र यस विपद्को घडीमा सबै पक्षलाई एकजुट हुन उनले अपिल गरे।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार