काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोजी, उद्धार, जनधनको सुरक्षा तथा राहत व्यवस्थापनका लागि सरकारले मंगलबारसम्म ७ हजार ९ सय ९२ को संख्यामा नेपाल प्रहरी परिचालन गरेको छ।
बाढीले सिर्जना गरेका बहुआयामिक चुनौतीहरू सम्बोधन गर्न र तटीय क्षेत्रमा हुनसक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि विभिन्न प्रदेश, अस्पताल तथा तालिम केन्द्रहरूबाट टोली खटाइएको छ।
प्रहरी प्रधान कार्यालयबाट १,६०२ जना, वागमती प्रदेश प्रहरी कार्यालयबाट २,१८२ जना, गण्डकी प्रदेशबाट १,३०९ जना, लुम्बिनी प्रदेशबाट ६४० जना र काठमाडौँ उपत्यका प्रहरी कार्यालयबाट ७५४ जना परिचालन भएका छन्।
यसैगरी, प्रहरी अस्पताल महाराजगञ्जबाट ३९७ जना, राप्रप्रप्र महाराजगञ्जबाट ४५० जना, प्रहरी शिक्षालयबाट ३५६, प्रयुताके जर्गाहबाट २२२ जना प्रही खटिएका छन्।
उद्धार तथा तथ्याङ्क व्यवस्थापनलाई एकीकृत बनाउन प्रहरी प्रधान कार्यालयमा 'आपत्कालीन समन्वय केन्द्र' र प्रहरी नायब महानिरीक्षक (डीआईजी) को नेतृत्वमा २४सै घण्टा चल्ने 'विपद् उद्धार तथा समन्वय सूचना व्यवस्थापन केन्द्र' गठन गरिएको छ।
घाइतेको उपचार र शव व्यवस्थापनका लागि विभिन्न अस्पताल तथा विमानस्थलमा प्रहरी नायब उपरीक्षक (डीएसपी) तथा अन्य वरिष्ठ अधिकारीको नेतृत्वमा फोकल डेस्क स्थापना गरिएका छन्।
बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन प्रहरी प्रधान कार्यालयमा 'आपत्कालीन समन्वय केन्द्र' र प्रहरी नायब महानिरीक्षक (डीआईजी) को नेतृत्वमा २४सै घण्टा सञ्चालन हुने गरी 'विपद् उद्धार तथा समन्वय सूचना व्यवस्थापन केन्द्र' गठन गरिएको छ।
विपद्का बेला घाइतेको उपचार र मृतकका परिवारसँगको समन्वयका लागि अस्पताल तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा 'फोकल डेस्क' स्थापना गरिएका छन्।
शिक्षण अस्पतालमा डीआईजीको नेतृत्वमा ६२ जना, वीर अस्पतालमा ३० जना, सिभिल अस्पतालमा १३ जना र काठमाडौँ मेडिकल कलेजमा ५ जना प्रहरी खटाइएको छ। यस्तै, विमानस्थलमा प्रहरी उपरीक्षक (एसपी) को नेतृत्वमा ८ जना प्रहरीको टोलीले देशी तथा विदेशी नागरिकको शव व्यवस्थापन र घाइतेहरूको लगत तयार पारिरहेको छ।
अनुसन्धानमा ड्रोन, फरेन्सिक र तालिमप्राप्त कुकुरको प्रयोग
प्रहरीले पैदल गस्ती कठिन भएका रसुवा, नुवाकोट र धादिङका दुर्गम क्षेत्रमा खोजी तथा निगरानीका लागि १२ वटा ड्रोन प्रयोगमा ल्याएको छ। सञ्चार विच्छेद भएका स्थानमा सूचना आदानप्रदान गर्न ७ वटा स्याटेलाइट फोन र खोजीका लागि ५ वटा तालिमप्राप्त कुकुर परिचालन गरिएका छन्।
घटनास्थल अनुसन्धानका लागि ६७ जना, विभिन्न जिल्लामा शव पहिचान र व्यवस्थापनका लागि ७१५ जना प्रहरी तथा शवहरूको वैज्ञानिक परीक्षण (डीएनए) का लागि 'सिन अफ क्राइम अफिसर' सहित फरेन्सिक विज्ञहरूको टोली खटाइएको छ। घाइतेहरूको तत्काल उपचारका लागि प्रहरी अस्पतालका विशेषज्ञ चिकित्सक टोली स्वयं प्रभावित क्षेत्रमा सक्रिय छ।
विपद्को फाइदा उठाउँदै चोरी, लुटपाट र अनलाइन ठगीमा संलग्न व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरी कारबाही अघि बढाएको छ।
चितवनको मदनपुरका २५ वर्षीय मदन गुरुङ र ३८ वर्षीय उमेश चौधरीलाई नारायणी नदीले बगाएर ल्याएको महिलाको शवबाट सुनको गहना निकाल्दै गर्दा पक्राउ गरिएको छ।
धादिङको गल्छी–४ बेल्खुखोलास्थित त्रिशूली नदी किनारमा भेटिएको बैंकको सेफ तोडेर नगद रकम लैजाने २९ जना स्थानीयलाई प्रहरीले नियन्त्रणमा लिई उनीहरूबाट ९२ लाख ६८ हजार ५०५ रुपैयाँ बरामद गरेको छ। बैरेनी र परेवाटार मलेखुमा भेटिएका अन्य सेफहरू सुरक्षित राखिएको र मलेखु खोलामा देखिएको सेफ निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
सामाजिक सञ्जालमा नक्कली पोस्ट बनाएर बाढीपीडितका नाममा रकम असुल गर्न खोज्ने रामेछाप गोकुलगंगा–२ का ३२ वर्षीय सृजन कार्की पक्राउ परेका छन्।
नेपाल प्रहरीले विपद्को यस संवेदनशील घडीमा नागरिकहरूलाई संयमित रहन आग्रह गर्दै उद्धार, राहत र सुरक्षाका काम निरन्तर जारी रहने स्पष्ट पारेको छ।



