Nov 05 2026 | २०८३ कार्तिक २० गते

संवाद र समन्वयको अभावले मधेस अशान्त भयो, दलितका माग सम्बोधन नभए पुनः दुर्घटना हुनसक्छ : सांसद पासवान

संवाद र समन्वयको अभावले मधेस अशान्त भयो, दलितका माग सम्बोधन नभए पुनः दुर्घटना हुनसक्छ : सांसद पासवान

सोमवार, श्रावण १८ २०८३
  • काठमाडौँ। नेपाली कांग्रेसका सांसद धर्मेन्द्र पासवानले मधेस प्रदेशका विभिन्न स्थानमा देखिएको सामाजिक र साम्प्रदायिक द्वन्द्व न्यूनीकरणका लागि सरकारले समयमै संवाद र समन्वय गर्न नसकेको बताएका छन्।

    राष्ट्रिय सभाको साेमबारकाे बैठकमा विशेष समय लिएर बोल्दै सांसद पासवानले सरकारको कमजोरीका कारण जनधनको क्षति भएको बताए।

    images

    सुनसरीको कप्तानगन्ज लगायत मधेसका विभिन्न क्षेत्रमा भएका पछिल्ला झडपहरूले सबैलाई गम्भीर बनाएको उल्लेख गर्दै उनले भने, ‘घटना हुनुअघि नै सरकारले सावधानी अपनाउनुपर्थ्यो। प्रशासनिक बल प्रयोग गरेर मात्र समस्या समाधान हुँदैन, यसले थप उत्तेजना फैलाउने र क्षति पुर्‍याउने काम मात्र गरेको छ।’

    उनले सात दिनअघि मात्र सङ्घीयता सबलीकरण समितिमा गृहमन्त्रीलाई मधेसमा रहेका धर्मगुरु र स्थानीय नेताहरूसँग समन्वय समिति बनाएर अघि बढ्न सुझाव दिएको स्मरण गराए । ‘गृहमन्त्रीलाई मैले पहिले नै भनेको थिएँ– संवाद र समन्वयले मात्र द्वन्द्व न्यूनीकरण हुन्छ, तर सरकारले यसलाई गम्भीरतापूर्वक लिएन,’ उनले भने।

    शान्ति केवल झडप रोकिनु मात्र नभएको तर्क गर्दै पासवानले भने, ‘शान्ति भनेको समाजमा विश्वासको पुनर्स्थापना हो, न्यायको अनुभूति हो र राज्यप्रति नागरिकको भरोसा हो।’

    सांसद पासवानले मधेसका दलित, बेरोजगार युवा र पिछडिएका समुदायका मागहरूलाई सरकारले बेवास्ता गरेको बताए।

    उनले भने, ‘अहिले पनि मधेसका दलित युवाहरूले केही माग अघि सारेका छन्। उनीहरूका जायज मागलाई सरकारले समयमै सम्बोधन गरेन भने फेरि अर्को दुर्घटना हुनसक्छ। सरकारले प्रतिवाद मात्र होइन, परिणाम दिने कार्यशैली अपनाउनुपर्छ।’

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार