Nov 05 2026 | २०८३ कार्तिक २० गते

लुम्बिनी विकास कोषमा अर्बौँको भ्रष्टाचार भएको महाअभियानको आरोप

लुम्बिनी विकास कोषमा अर्बौँको भ्रष्टाचार भएको महाअभियानको आरोप

सोमवार, श्रावण १८ २०८३
  • काठमाडौँ । अन्तर्राष्ट्रिय पहिचान र धार्मिक-सांस्कृतिक गौरवको केन्द्र लुम्बिनीमा व्यापक आर्थिक अनियमितता, भ्रष्टाचार र पुरातात्विक सम्पदाको विनाश भइरहेको भन्दै ‘लुम्बिनी बचाउ महाअभियान’ ले आपत्ति जनाएको छ।

    सोमबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा महाअभियानका प्रतिनिधिहरूले लुम्बिनी विकास कोषको विकृति र सरकारको उदासीनताप्रति आलोचना गरेका हुन्।

    images

    महाअभियानका सहसंयोजक रामविकास चौधरीले विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीको संवेदनशीलतालाई नजरअन्दाज गर्दै राज्यले यसलाई स्थानीय घेराभन्दा बाहिर पुर्‍याउन नसकेको र विभिन्न समयका सरकारहरूले यसलाई ‘लुटधन्दा’ को केन्द्र बनाएको आरोप लगाएका छन्। उनले पटक-पटक खबरदारी गर्दा पनि सुनुवाइ नभएको र उल्टै स्थानीय बासिन्दामाथि प्रहरी प्रशासनमार्फत दमन गरिएको गुनासो गरेका छन्।

    चौधरीका अनुसार सन् १९९२ मा प्राचीन मायादेवी मन्दिरलाई भत्काएर यसको मौलिक स्वरूप बिगारिएको, मन्दिर परिसरको ऐतिहासिक पिपलको रुख गैरकानुनी रूपमा काटेर बिक्री गरिएको र मन्दिरको दानपेटीबाट पटक-पटक रकम चोरी भएको छ। साथै, मन्दिरभित्र अनाधिकृत रूपमा मूर्तिहरू राख्ने र हटाउने कार्य भइरहेको तथा भगवान् बुद्धको अस्तु धातुसहितका बहुमूल्य प्राचीन वस्तुहरूको अवस्था अज्ञात रहेको उनले बताएका छन्। प्राचीन स्मारक संरक्षण ऐन २०१३ को व्यवस्था उल्लेख गर्दै उनले ऐतिहासिक संरचना नष्ट गर्नेलाई कडा सजायको व्यवस्था भए पनि लुम्बिनीमा जीर्णोद्धारका नाममा नयाँ संरचना खडा गरी कानुनको धज्जी उडाइएको दाबी गरेका छन्।

    महाअभियानका संयोजक अक्रम खानले विकास कोषभित्र अर्बौँको भ्रष्टाचार र कमिसनको खेल भइरहेको आरोप लगाएका छन्। खानले कोषका पदाधिकारीहरूको नामै किटेर ६ अर्बभन्दा बढीको अन्तर्राष्ट्रिय ठेक्कालाई टुक्रा-टुक्रा पारी कमिसन असुल गरिएको दाबी गरेका छन्। उनले केही पदाधिकारीले करोडौँ रकमको बार्गेनिङ गरेको र केही योजनाहरू रोक्न सफल भए पनि अनियमितताको क्रम नरोकिएको बताएका छन्।

    प्रोफेसर केन्जो टाँगेद्वारा तयार पारिएको लुम्बिनी विकासको गुरुयोजना र कोषको आफ्नै विनियमावली विपरीत कार्य भइरहँदा पनि सरोकारवाला निकाय मौन रहेकोमा महाअभियानले चिन्ता व्यक्त गरेको छ। गत वैशाख पूर्णिमादेखि लुम्बिनीजस्तो संवेदनशील स्थलको नेतृत्व रिक्त राखिनुले सरकारको नियतमाथि प्रश्न उठेको उनीहरूको भनाइ छ।

    महाअभियानले वर्तमान सरकार र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदै लुम्बिनीको गरिमा बचाउन र भ्रष्टाचारमा संलग्नहरूलाई कारबाही गर्न माग गरेको छ। बुद्धको जन्मस्थलका पहरेदारका रूपमा रहेका लुम्बिनीबासीको भावनालाई कदर गर्दै सम्पदा संरक्षणमा गम्भीर बन्न महाअभियानले राज्यको ध्यानाकर्षण गराएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार