काठमाडौँ- श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किराँतीले उपसभामुख रुवीकुमारी ठाकुरको कडा शब्दमा आलोचना गरेका छन्। उपसभामुख ठाकुरले पदमा पुगिसकेपछि पार्टीको योगदान, सिद्धान्त र श्रमदाताहरूको आँसु-पसिनालाई सम्मान गर्न नसकेको गम्भीर आरोप किराँतीले लगाएका छन्।
हालै आयोजित पार्टीको एक कार्यक्रममा बोल्दै नेता किराँतीले उपसभामुखको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाए। ‘कहाँको मान्छेलाई जिताएर आँसु-पसिना बगाएर श्रमदाताले लिएर आए, नेपाली नागरिकले भोट हाले। तर पदमा पुगेपछि त पाँच जना पार्टीले सिफारिस गरेको कर्मचारी पनि आर्मी लगाएर निकाल्ने? अनि त्यस्तो रुबी चाहिँदैन,’ किराँतीले आक्रोश पोखे।
श्रम संस्कृति पार्टीकै काँधमा चढेर मेयर, सांसद, मन्त्री तथा मुख्यमन्त्रीसम्मका सार्वजनिक पदमा पुगेका नेताहरूले पार्टीको नीति, विचार र अनुशासनभित्र रहेर काम गर्नुपर्ने उनको भनाइ थियो। पार्टीभित्र स्वेच्छाचारिता हाबी हुन नदिइने चेतावनी दिँदै उनले भने, ‘यो भनेको पार्टीको स्पष्ट अनुशासन हुनुपर्छ, विचार हुनुपर्छ। १०० थरी बाजा एउटै धुन, १०० थरी गोला एउटै चाल हुनुपर्छ। जो जता हिँडे पनि हुने, जसलाई जे मन लाग्छ त्यही गर्दा हुने? अब यो पार्टीमा त्यो चल्दैन, विधि चाहिन्छ।’
पार्टीलाई संस्थागत र प्रणालीगत रूपमा अगाडि बढाउन नसके संसारको कुनै पनि शक्तिले जोगाउन नसक्ने ठोकुवा गर्दै उनले साना-साना नियमको उदाहरण दिए। ‘पशुपतिमा पूजा गर्ने पनि त नियम हुन्छ। शौचालय जाँदा पनि पालो पर्खिने नियम हुन्छ भने यो त देश बनाउने पार्टी हो। यसमा झन् विधि र प्रणाली हुनुपर्छ,’ उनले भने। पार्टीलाई अगाडि बढाउन अहिले मुख्य तीन वटा सर्तबाट पछि हट्न नहुने किराँतीको जोड थियो। पार्टीलाई एक नम्बरको बनाउने, अध्यक्ष (हर्क साम्पाङ) लाई प्रधानमन्त्री बनाउने र अध्यक्षलाई सर्वमान्य नेता बनाउनेतीनै वटा लक्ष्य हासिल गर्न पार्टी संस्थागत र पद्धतिमा चल्नुपर्ने उनले बताए।
पार्टीका शुभेच्छुक र कार्यकर्ताले जथाभाबी बोल्न नहुने भन्दै उनले थपे, ‘शुभेच्छुकले आफ्नो हिसाबले मनपरी बोल्न पाइँदैन, पार्टीको आधिकारिक लाइन बोल्नुपर्छ। शुभेच्छुक भनेको सदस्य समान हो।’ अरू पार्टीले पनि डाह गर्ने र मानिसहरू आकर्षित हुने खालको दल निर्माण गर्न पहिला विचार, प्रणाली र व्यवहार स्पष्ट हुनुपर्ने धारणा नेता किराँतीले व्यक्त गरे।



