काठमाडौँ । सिन्धुलीस्थित सुनकोसी नदीमा खसेको कारमा चालकसहित ३ जना रहेको खुलेको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार कार चालक सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिकाका दिलकुमार लामासहित तीन जना सवार रहेको खुलेको हो।
लामा सडक विभाग अन्तर्गत मध्यपहाडी लोकमार्ग अन्तर्गत मुलकोट खण्डको ठेकेदार समेत रहेको बुझिएको छ। त्यस्तै, कारमा रहेका अर्का स्काइभेटरका ड्राइभर रहेका र अर्का एक जना हेल्पर रहेको सिन्धुली प्रहरीले जनाएको छ।
कारलाई काठमाडौँबाट ओखलढुङ्गातर्फ जाँदै गरेको बा.प्र ०८–००१ ख ०१४४ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको नम्बर नखुलेको कारलाई ठक्कर दिँदा फिक्कल गाउँपालिकास्थित नवलपुर भन्ने स्थानबाट नदिमा खसेको थियो।
दुर्घटना लगत्तै प्रहरी, जनप्रतिनिधि र स्थानीय घटनास्थलमा खटिए पनि बाढीका कारण उद्धार प्रभावित भएको बताइएको छ।



