Nov 05 2026 | २०८३ कार्तिक २० गते

‘सरकार स्वेच्छाचारी बन्यो, सडक आन्दोलनका लागि तयार रहनुस्’

‘सरकार स्वेच्छाचारी बन्यो, सडक आन्दोलनका लागि तयार रहनुस्’

सोमवार, श्रावण १८ २०८३
  • काठमाडौँ। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले ‘मिसन पार्टी जागरण’ पार्टी निर्माणको महत्वपूर्ण अभियान भएकाले सबै पालिकामा सुरु गर्न निर्देशन दिएका छन्।

    पार्टीका प्रदेश कमिटीका पदाधिकारीहरू र मिसन पार्टी जागरणका केन्द्रीय प्रतिनिधिहरूसँगको भर्चुअल बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो निर्देशन दिएका हुन्।

    images

    पार्टीको जनतासँग टुटेको सम्बन्धलाई जोड्ने उद्देश्यका साथ सुरु गरिएको यस अभियानलाई सफल पार्न पार्टी कमिटी मात्र नभई जनसंगठनहरू पनि परिचालन गर्ने योजना बनाइएकाले सोहीअनुसार परिचालित हुन उनले आग्रह गरे। पार्टी जागरण अभियान यतिबेला जिल्ला कमिटीहरूका बैठक गरी कार्यक्रम बनाई अगाडि बढाइँदै छ।

    पार्टीले पालिका तहसम्म केन्द्रीय प्रतिनिधि खटाएको छ। महासचिव पोखरेलले पार्टी विस्तारको दायरा फराकिलो बनाउन र वर्ग, समुदाय तथा पेसागत क्षेत्र समेटेर जागरण अभियान सम्पन्न गर्न सुझाव दिए। पार्टी सुदृढ बनाउन विचार, संगठन र नेतृत्वमा पुनर्गठन आवश्यक हुने सन्दर्भमा आफ्नो भनाइ राख्दै पोखरेलले विचारधाराको महत्वपूर्ण भूमिका हुने हुँदा जनताको बहुदलीय जनवादलाई समृद्ध बनाउँदै आएको स्मरण गराए।

    महासचिव पोखरेलले संगठनात्मक पुनर्गठनको काम तलैदेखि गर्नुपर्नेमा जोड दिए। पार्टीका स्थानीय कमिटीहरू चलायमान बनाउने कुरामा ध्यान दिनु जरुरी रहेको र त्यसका लागि कमिटीहरू पुनर्गठन, कमिटीमा रिक्त रहेका स्थान पूर्तिलगायतका काम गर्न उनले निर्देशन दिए।

    पार्टीमा युवा सहभागिता वृद्धिका लागि विगतमा युवा परिचालन, युवाको नेतृत्व विकास र युवालाई कमिटीमा आरक्षणलगायत नीति अगाडि सारिएको तर व्यवहारमा लागू हुन नसकेको उनले औँल्याए। महासचिव पोखरेलले पार्टी जागरण अभियान पनि निर्देशन नै निर्देशनमा समय नगुज्रियोस् भन्नेतर्फ ध्यानाकर्षण गराए।

    पार्टीलाई नयाँ ढङ्गले अगाडि बढाउने सन्दर्भमा पार्टीलाई एकताबद्ध बनाएर सुधार र रूपान्तरण गरिने तथा त्यो काम संस्थागत निर्णयबाट हुने उनले प्रष्ट पारे।पार्टी सदस्यता नवीकरणको कामलाई सफल बनाउन आग्रह गर्दै समस्या भए पार्टी केन्द्रबाट थप सहजीकरण हुने उनले बताए।

    मुलुकको वर्तमान राजनीतिक परिस्थितिबारे जानकारी गराउँदै महासचिव पोखरेलले शासकीय अनुभव नभएका मानिसहरू सरकारमा पुगेकाले देश यतिबेला सङ्कटको अवस्थामा गुज्रिरहेको र विभिन्न स्वार्थसमूहहरूले आफ्नो सक्रियता बढाइरहेको बताए।

    सरकार सुरुदेखि पूर्वाग्रह र प्रतिशोधपूर्ण ढङ्गले अगाडि बढेको र यतिबेला नियम कानुन लत्याएर स्वेच्छाचारी शासन व्यवस्थातिर उन्मुख रहेको पोखरेलको भनाइ छ। उनले कुनै पनि बेला सडक आन्दोलनमा जानुपर्ने हुँदा तयार हुन पनि मातहत कमिटीलाई निर्देशन दिए।

    भर्चुअल बैठकमा पार्टीका सचिव तथा संगठन विभाग प्रमुख भानुभक्त ढकालले पार्टी सदस्यता नवीकरणको प्रारम्भिक रिपोर्टबारे जानकारी गराउँदै नवीकरणको काम उत्साहप्रद रहेको बताए। उनले सदस्यता नवीकरणको समयसीमा असार मसान्तसम्म रहे पनि यो पार्टी कामको महत्वपूर्ण पाटो भएकाले यस कामलाई निरन्तरता दिनुपर्ने बताए। बैठकमा प्रदेश अध्यक्षहरूले मिसन पार्टी जागरण अभियान र पार्टी सदस्यता नवीकरणलगायत विषयमा रिपोर्टिङ गरेका थिए।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार