Nov 05 2026 | २०८३ कार्तिक २० गते

कांग्रेसमा एकताका लागि दबाब बढ्दो

कांग्रेसमा एकताका लागि दबाब बढ्दो

आइतवार, श्रावण १७ २०८३
  • काठमाडौँ । नेपाली कांग्रेसभित्र विवाद चरमोत्कर्षमा पुगेपछि एकताका लागि दबाब बढ्दै गएको देखिन्छ । पार्टीलाई फुटबाट जोगाउन विभिन्न पक्षले दबाब दिइरहेका छन्।

    विशेष महाधिवेशनलाई अस्वीकार गर्दै आएको निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला समूहले साउन २९ देखि ३१ गतेसम्म काठमाडौँमा ‘राष्ट्रिय भेला’ आयोजना गर्ने घोषणा गर्दै पूर्वमहामन्त्री डा.शशांक कोइरालाको संयोजकत्वमा ५५१ सदस्यीय आयोजक समिति बनाएको छ।

    images

    भेलाबारे जानकारी दिन शनिबार आयोजित पत्रकार सम्मेलनमा पूर्वमहामन्त्री डा. कोइरालाले पार्टीलाई सबल बनाउन भेला गर्न लागिएको बताए । पार्टी एकताका लागि दबाब दिन भन्दै साउन २० गते पार्टीका युवा नेताहरूले र साउन २७ गते पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिहरूले छुट्टाछुट्टै भेलाको घोषणा गरिसकेका छन् ।

    पार्टीभित्र बढ्दो ध्रुवीकरणलाई चिर्न भन्दै निवर्तमान केन्द्रीय सदस्य नैनसिंह महर, राष्ट्रिय सभा सदस्य रञ्जित कर्ण, पुष्पराज शाहीसहितको समूहले साउन २० गते सुकेधारामा ‘एकता भेला’ गर्ने घोषणा गरेको छ । आइतबार बानेश्वरमा पत्रकार सम्मेलन गर्दै राष्ट्रिय सभा सदस्य कर्णले त्यो भेलामा संस्थापन र इतर दुवै पक्षलाई एउटै मञ्चमा उभ्याउने बताए।कर्णले भने, ‘पार्टी फुटको डिलमा छ, हामी पदका लागि होइन, एकताका लागि लागेका हौँ।’

    पार्टी एकताका लागि भन्दै स्थानीय तहका जनप्रतिनिधिहरूले पनि दबाब दिइरहेका छन् । भीमप्रसाद ढुंगाना, चिरिबाबु महर्जन, उपेन्द्र कार्कीसहितका कांग्रेसका तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूले ‘संयुक्त राष्ट्रिय दबाब अभियान’ सञ्चालन गरिरहेका छन् । उनीहरूले नेतृत्वलाई चेतावनी दिँदै पार्टी विभाजनको बाटोमा गए आफूहरूले सामूहिक रूपमा पदबाट राजीनामा बताएका छन् । उनीहरूले साउन २७ गते राष्ट्रिय भेला बोलाएका छन्।

    अर्कोतर्फ उपचारका लागि हङकङमा रहेका निवर्तमान सभापति शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले विशेष महाधिवेशनसम्बन्धी सर्वोच्चको फैसला पुनरवलोकनको माग गर्दै रिट दायर गरेका छन्।

    पार्टीभित्रको चर्को विवाद र दबाबबिच कांग्रेसले साउन २४ गते केन्द्रीय समिति बैठक बोलाएको छ । असोज १६ गतेदेखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने मिति तय गरेको कांग्रेसमा क्रियाशील सदस्यता वितरण र विशेष महाधिवेशनको वैधानिकतासम्बन्धी विवाद चरमोत्कर्षमा छ।

    दुवै पक्षले आफ्ना अडानलाई ‘इगो’ को विषय बनाउँदा र बेग्लाबेग्लै भेलाको राजनीतिले कांग्रेस अहिले एकता र विभाजनको दोसाँधमा उभिएको छ । साउन २४ को बैठकले यी दबाबहरूलाई कसरी सम्बोधन गर्छ भन्ने धेरैको चासो छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार