Nov 05 2026 | २०८३ कार्तिक २० गते

असारमा बक्स अफिस सुस्तायो, चलचित्र दर्तामा भने उत्साह

असारमा बक्स अफिस सुस्तायो, चलचित्र दर्तामा भने उत्साह

आइतवार, श्रावण १७ २०८३
  • काठमाडौँ । असार महिनामा चलचित्रको व्यावसायिक अवस्था निराशाजनक नै रह्यो । मनसुनको सुरुवात, निरन्तरको वर्षा र खेतीपातीको चटारोका कारण दर्शक हलसम्म पुग्न पनि भ्याउँदैनन् । त्यसैले असारलाई चलचित्र प्रदर्शनका लागि उपयुक्त समय मानिँदैन । विगतका वर्षजस्तै गत असारमा पनि प्रदर्शनमा आएका ‘आई एम जितबहादुर’, ‘जाँड’ र ‘भागदौड’ जस्ता चलचित्रले बक्स अफिसमा कुनै प्रभाव पार्न सकेनन् । यी चलचित्रको लगानी 'बालुवामा पानी'सरह भयो।

    तर,व्यावसायिक रूपमा असार महिना सुखद नरहे पनि नयाँ चलचित्र निर्माणको घोषणा गर्ने र इजाजत लिने क्रममा भने निकै उत्साह देखिएको छ । चलचित्र विकास बोर्डको पछिल्लो तथ्याङ्क अनुसार वैशाख र जेठको तुलनामा असारमा चलचित्र निर्माणका लागि इजाजत लिनेहरूको संख्यामा वृद्धि भएको छ।

    images

    नेपालमा चलचित्र निर्माण सुरु गर्नुअघि चलचित्र विकास बोर्डबाट अनिवार्य रूपमा निर्माण इजाजतपत्र लिनुपर्ने कानुनी प्रावधान छ । बोर्डको विवरण अनुसार वैशाखमा १६ र जेठमा ११ वटा चलचित्रले निर्माण इजाजत लिएका थिए । तर, असारमा यो संख्या बढेर १८ पुगेको छ । प्रतिशतका आधारमा हेर्दा असारमा वैशाखको तुलनामा १२ प्रतिशत र जेठको तुलनामा ३७ प्रतिशतले चलचित्र निर्माणको अनुमति लिने दर बढेको देखिन्छ।

    असारमा बोर्डबाट अनुमति पाउने १८ चलचित्रहरूमा ‘पुर्णे हिँड्यो अष्ट्रेलिया’, ‘मायाको डोली’, ‘विष हरण’, ‘झ्यालखाना’, ‘अनुराधा’, ‘प्रिन्स’, ‘भेडिगोठ’, ‘भिडियोटेप’, ‘ए मन सुटुक्क भन’, ‘टनेल २६’, ‘ल्हासाङ’, ‘माराङ’, ‘अरिङ्गाल’, ‘फर्किने बाटो’, ‘लिटिल स्टार्स’, ‘बार्दली’, ‘भंगेरी दरबार’ र ‘फाइटर आदित्य’ रहेका छन्।

    के दर्ता भएका सबै चलचित्र बन्छन् ?

    बोर्डमा दर्ता हुने चलचित्रको संख्या लोभलाग्दो देखिए पनि ती सबै चलचित्र पर्दासम्म आइपुग्छन् भन्ने निश्चित हुँदैन । चलचित्र विकास बोर्डका प्रवक्ता सन्तोष लोहनीका अनुसार दर्ता भएका चलचित्रमध्ये करिब ८० प्रतिशत मात्रै निर्माण हुने गरेका छन् । बाँकी २० प्रतिशत चलचित्र भने विभिन्न कारणले कागजमै सीमित हुने गर्छन्।

    बोर्डको नियमानुसार दर्ता भएको तीन वर्षभित्र चलचित्रको निर्माण सम्पन्न गरी सेन्सर गराउनुपर्छ । सो अवधिभित्र काम हुन नसकेमा पुनः दर्ता प्रक्रियामा जानुपर्ने हुन्छ । 'कतिपयले सुरुमा उत्साहका साथ कम्पनी खोल्छन् र फिल्म दर्ता गर्छन्, तर त्यसपछि मात्र लगानीकर्ता खोज्न थाल्छन्,' प्रवक्ता लोहनी भन्छन्, 'चलचित्र क्षेत्रको वास्तविकता नबुझेका व्यक्तिहरूलाई आकर्षक कमाइको लोभ देखाएर लगानी गर्न लगाइन्छ ।  लगानीकर्ता भेटिए चलचित्र बन्छ, नत्र त्यो फाइलमै थन्किन्छ।'

    चलचित्र वृत्तमा ‘नाम ओगट्ने’ प्रवृत्ति पनि एउटा ठुलो समस्याका रूपमा छ । कतिपयले आफूलाई मन परेको वा चर्चामा आउन सक्ने शीर्षक अरूले दर्ता नगरून् भनेर पहिल्यै ओगटेर राख्छन् । पछि ती नामहरू अन्य निर्माता वा निर्देशकलाई मोटो रकममा बिक्री गर्ने उद्देश्यसमेत राखिने गरेको प्रवक्ता लोहनी बताउँछन्।

    यसबाहेक, चलचित्र निर्माणको काम सुरु भएपछि साझेदारहरूबिच हुने आपसी मनमुटाव, लगानीको अभाव वा व्यक्तिगत कारणले पनि चलचित्र बिचमै रोकिने गरेका छन् । कहिलेकाहीँ निर्माण पक्षको स्वास्थ्य समस्या वा विदेश पलायनजस्ता भवितव्यले पनि चलचित्र निर्माणमा पूर्णविराम लाग्ने गरेको लोहनीको भनाइ छ।

    कुन फिल्म क–कसले बनाउँदैछन् ?

    12

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार