काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले स्थानीय बासिन्दाहरूलाई अंकित मूल्य अर्थात् प्रति कित्ता १०० रुपैयाँमै सेयर उपलब्ध गराउन आफ्ना सदस्य प्रवर्द्धक कम्पनीहरूलाई आग्रह गरेको छ।
आइतबार एक विज्ञप्ति जारी गर्दै इप्पानले जलविद्युत आयोजनाबाट प्रत्यक्ष प्रभावित क्षेत्रका स्थानीयबासीलाई प्रति कित्ता १०० रुपैयाँमै सेयर उपलब्ध गराउन भनेको हो।
पछिल्लो समय केही जलविद्युत आयोजनाहरूको साधारण सेयर (आईपीओ) निष्कासन प्रक्रिया नियामक निकायका कारण ढिलाइ भएपछि कतिपय प्रवर्द्धकहरूले स्थानीयका लागि प्रिमियम मूल्यमा सेयर निष्कासन गर्नेबारे छलफल सुरु गरेपछि इप्पानले यस्तो धारणा सार्वजनिक गरेको जनाएको छ।
इप्पानले धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३’ को भावनाअनुसार स्थानीयलाई १० प्रतिशत सेयर दिने व्यवस्था कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।
आयोजना निर्माणका क्रममा जग्गा उपलब्ध गराउने, वातावरणीय र सामाजिक प्रभाव सहने तथा निर्माण अवधिभरका असुविधा व्यहोर्ने स्थानीय समुदायलाई आयोजनाको वास्तविक साझेदार बनाउनु पर्ने इप्पानको ठहर छ।
विज्ञप्तिमा भनिएको छ, ‘यदि स्थानीयलाई प्रिमियम मूल्यमा सेयर निष्कासन गरियो भने उनीहरूको पहुँच सीमित हुने, अपनत्वको भावना कमजोर हुने र आयोजना तथा समुदायबिचकाे विश्वासको सम्बन्धमा नकारात्मक असर पर्न सक्छ।’
स्थानीयलाई अंकित मूल्यमै सेयर उपलब्ध गराउँदा आयोजनाप्रति उनीहरूको अपनत्व बढ्ने, सामाजिक विवाद र अवरोधहरू कम हुने र जलविद्युत आयोजनाहरू समयमै सम्पन्न गर्न सहज वातावरण निर्माण हुने इप्पानको विश्वास छ।यसले स्थानीय स्तरमा आर्थिक सशक्तीकरण र सामाजिक सद्भावलाई समेत टेवा पुग्ने विज्ञप्तिमा उल्लेख छ।
नियामक निकायको ध्यानाकर्षण
नेपालको कुल विद्युत् उत्पादनमा निजी क्षेत्रको योगदान ८० प्रतिशतभन्दा बढी रहेको स्मरण गराउँदै इप्पानले साधारण सेयर निष्कासनमा भइरहेको ढिलाइप्रति सरकार र नियामक निकायको ध्यानाकर्षण गराएको छ।
इप्पानले सेयर निष्कासन प्रक्रियालाई सरल, पारदर्शी र समयबद्ध बनाउन माग गर्दै जलविद्युत क्षेत्रको लगानीमैत्री वातावरण सुदृढ गर्न र आयोजनाहरूले भोगिरहेका वित्तीय समस्या समाधानका लागि समयमै सेयर निष्कासन गर्ने परिपाटीको विकास गर्न नेपाल सरकारसँग आग्रह गरेको छ।



