Nov 05 2026 | २०८३ कार्तिक २० गते

कांग्रेसमा विधानको सर्वोच्चता कि ‘बाधा अड्काउ फुकाऊ’ भन्नेमा संस्थापन र इतर समूहबिच मतभेद

कांग्रेसमा विधानको सर्वोच्चता कि ‘बाधा अड्काउ फुकाऊ’ भन्नेमा संस्थापन र इतर समूहबिच मतभेद

आइतवार, श्रावण १७ २०८३
  • काठमाडौँ । नेपाली कांग्रेसको आगामी महाधिवेशनको तयारी र पार्टीभित्रको आन्तरिक व्यवस्थापनलाई लिएर संस्थापन पक्ष र संस्थापन इतर (शेरबहादुर देउवा र डा. शेखर कोइराला) समूहबिच मतभेद देखिएको छ । जसका कारण इतर समूहले राष्ट्रिय भेला घोषणा गरेर पूर्वमहामन्त्री डा. शशांक कोइरालालाई संयोजक बनाइसकेको छ

    कांग्रेस प्रवक्ता देवराज चालिसेले विधानको सर्वोच्चता र विधि अनुसार एकताका लागि आफूहरू लचिलो रहेको बताए। अर्कोतर्फ इतर समूहका नेता डा. प्रकाशशरण महत भने विगतको नजिर दिँदै विधानभन्दा पनि राजनीतिक सहमतिका लागि लचिलो हुनुपर्ने बताउँछन्।

    images

    पार्टी प्रवक्ता चालिसेले विधानभन्दा बाहिर गएर सम्झौता गर्न नसकिने बताउँछन् । अहिलेको विवाद नीतिमा नभई नेताहरूको व्यवस्थापनमा केन्द्रित रहेको बताउँदै चालिसेले विधान संशोधन नगरी केन्द्रीय समितिमा सदस्य थप्न वा नयाँ संरचना बनाउन नसकिने बताए।

    ‘लोकतान्त्रिक पार्टीले विधानको सर्वोच्चता मान्नुपर्छ । महाधिवेशनको मुखमा विधान संशोधन गर्ने वा संरचना थप्ने व्यवस्था गर्न महासमिति बैठक बोलाउन सक्ने अवस्था छैन,’ चालिसेले भने,‘हामी एकताका लागि लचिलो छौँ, तर सबै कुरा विधानको दायराभित्र हुनुपर्छ । सदस्यता व्यवस्थापन चाँडो टुंग्याएर महाधिवेशन सुनिश्चित गर्नु नै अहिलेको प्राथमिकता हो ।’ उनले विधानमा ‘बाधा अड्काउ फुकाऊ’ गरेर सदस्य सङ्ख्या बढाउने प्रावधान नरहेको समेत दाबी गरे।

    प्रवक्ता चालिसेको भनाइप्रति आपत्ति जनाउँदै देउवा समूहका नेता डा. महतले संस्थापन पक्षले एकताका लागि कुनै पहल नगरेको आरोप लगाए । केन्द्रीय समितिमा एकैपटक धेरै सदस्य राख्न सकिँदैन भन्ने संस्थापनको तर्कलाई खण्डन गर्दै डा. महतले भने, ‘विधान के हो भन्ने कुरा हामीलाई कसैले सिकाउनु पर्दैन । अधिवेशन प्रयोजनका लागि विधानमा ‘बाधा अड्काउ फुकाऊ’ को प्रयोग गरेर सबैलाई मिलाउन सकिन्छ।’

    डा. महतले १३औँ र १४औँ महाधिवेशनमा पनि अप्ठ्यारा फुकाउन यस्तै अभ्यास गरिएको स्मरण गराए । उनले पुससम्म नवीकरण भएका सबै क्रियाशील सदस्यलाई अद्यावधिक गर्नुपर्ने र नियमित अधिवेशन पक्षधरहरूलाई पनि अधिवेशन प्रयोजनका लागि समेट्नुपर्ने माग आफूहरूको रहेको बताए । ‘निर्वाचन प्रक्रियालाई निष्पक्ष बनाउन सबै समितिमा इतर समूहको सहभागिता र सहमतिमा निर्णय हुने नियम बनाउनुपर्छ भन्ने हाम्रो माग हो,’ डा.महतले भने ।

    प्रवक्ता चालिसेले भने केन्द्रीय समितिमा ठुलो सङ्ख्यामा सदस्यहरू थप्ने वा नयाँ संरचना बनाउने मागका सम्बन्धमा उनले विधानले त्यस्तो अधिकार नदिएको प्रस्ट पारे । ‘विधानमा बाधा अड्काउ फुकाएर केन्द्रीय समितिमा सदस्य सङ्ख्या बढाउने वा संरचना थप्ने विषय पूरा गर्न सकिन्न । विधान संशोधन नगरी यस्ता मागहरू पूरा हुन सक्दैनन् र अहिले महाधिवेशनको मुखमा विधान संशोधन गर्ने अवस्था छैन,’ चालिसेले भने।

    यसले संस्थापन पक्ष मौजुदा विधानभन्दा बाहिर गएर इतर समूहले माग गरेका १११ जनालाई केन्द्रीय समितिमा नराख्ने पक्षमा रहेको देखिन्छ।इतर समूहले ‘विशेष परिस्थिति’ भन्दै बाधा अड्काउ फुकाएर सबैलाई मूलधारमा ल्याउनुपर्ने बताइरहेको छ।

    विशेष गरी क्रियाशील सदस्यताको नवीकरण, अधिवेशनका लागि गठन हुने समितिहरूमा प्रतिनिधित्व र केन्द्रीय समितिको आकारका विषयमा दुई समूहबिच कुरा मिलिरहेको छैन । प्रवक्ता चालिसेले सदस्यता व्यवस्थापन गरेर प्रक्रिया अघि बढाउन जोड दिइरहँदा, डा. महतले भने ती प्रक्रियाहरूको निष्पक्षतामाथि प्रश्न उठाउँदै सहमतीय पद्धतिको माग गरे । प्रवक्ता चालिसेले अहिलेको मुख्य कार्यभार महाधिवेशनको सुनिश्चितता र निष्पक्षता कायम गर्नु रहेको बताए । महाधिवेशनलाई निष्पक्ष बनाउने विषयमा संस्थापन पक्ष निकै खुकुलो र सकारात्मक रहेको उनको भनाइ छ । उनले भने, ‘हाम्रो ध्यान महाधिवेशनको सुनिश्चितता र निष्पक्षतामा छ। त्यसका लागि सदस्यता व्यवस्थापनका कामहरू चाँडो टुङ्ग्याएर अधिवेशनको प्रक्रिया सुरु गर्नुपर्छ।’

    संस्थापनले विधानको सर्वोच्चता कायम राख्दै असन्तुष्टका माग पूरा गर्न तयार रहेको बताएको छ । ‘हामी एकताका लागि लचिलो छौँ, तर विधानभन्दा बाहिरको संरचनाबाट अगाडि बढ्न सकिन्न,’ चालिसेले भने, ‘विधानमा संशोधन गर्ने आफ्नै विधि र प्रक्रिया हुन्छ, जुन महाधिवेशन वा महासमिति बैठकबाट मात्रै सम्भव छ। त्यो अहिले सम्भावना नभएको सबैमा जगजाहेरै छ।’

    पार्टीभित्र देखिएका असन्तुष्टि र मागहरू कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले यसले मान्ने विधिको शासन र विधानको सर्वोच्चताका आधारमा पूरा गरिने बताए।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार