काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच भएको तीन बुँदे सहमतिमा कोशी प्रदेशको नेतृत्व एमालेले गर्ने उल्लेख छ ।
हाल कोशी प्रदेशको मुख्यमन्त्रीमा एमालेकै हिक्मत कार्की छन् । तर, उनलाई हटाउन एमाले अध्यक्ष केपी शर्मा ओलीले नै लागिपरको छन् ।
अध्यक्ष ओलीले एमाले कोशी प्रदेशका इन्चार्ज शेरधन राईमार्फत मुख्यमन्त्री कार्कीको राजीनामा मागेका छन् । कोशी प्रदेशका इन्चार्ज राईले अध्यक्ष ओलीको निर्देशन भन्दै कार्कीलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेका छन् ।
प्रदेशसभा सदस्यहरूसँगको छलफलपछि इन्चार्ज राईले मुख्यमन्त्री कार्कीलाई राजीनामा दिन आग्रह गरेका हुन् ।
यता राजीनामा दिइहाल्ने मनस्थितिमा नरहेका मुख्यमन्त्री कार्कीले पार्टी केन्द्रीय सचिवालयको निर्णय आए मात्र राजीनामा दिने बताउँदै आएका छन् ।
कार्कीलाई मुख्यमन्त्रीबाट हटाएर उनको स्थानमा तिलकुमार मेन्याङ्वोलाई लैजाने तयारी भइरहेको बताइएको छ ।



