Nov 05 2026 | २०८३ कार्तिक २० गते

निजी क्षेत्रको साझा धारणा– अर्थतन्त्र अप्ठ्यारोमा छ, सद्‌भाव कायम भएमात्रै समृद्धि सम्भव छ

निजी क्षेत्रको साझा धारणा– अर्थतन्त्र अप्ठ्यारोमा छ, सद्‌भाव कायम भएमात्रै समृद्धि सम्भव छ

शुक्रवार, श्रावण १५ २०८३
  • काठमाडौँ। तराई–मधेसका केही जिल्लामा भएका घटनाप्रति चिन्ता व्यक्त गर्दै निजी क्षेत्रले सामाजिक सद्‌भाव कायम राख्न आह्वान गरेको छ । निजी क्षेत्रले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्ज र त्यसपछि पूर्वी नेपालका केही जिल्लामा उत्पन्न परिस्थिति समाधानका लागि सद्‌भाव र्‍याली र प्रशासनिक पहल आवश्यक रहेकोमा जोड दिएको छ।

    निजी क्षेत्रका तीन छाता संगठनका अध्यक्षहरूले विज्ञप्ति नै जारी गरेर सामाजिक, धार्मिक एवं साम्प्रदायिक सहिष्णुतालाई कायम राख्न अपिल गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले सम्बन्धित सबै पक्षलाई मुलुकको अर्थतन्त्र अप्ठ्यारोमा रहेको स्मरण गराउँदै मुलुकमा सद्‌भाव बिथोलिए समृद्धि सम्भव नहुने प्रस्ट पारेका छन् । उनीहरूले तत्काल सामाजिक सद्‌भाव कायम राख्न आग्रहसमेत गरेका छन्

    images

    तीनै संस्थाले नेपालको पहिचान भनेकै सदियौँदेखिको बहुजातीय, बहुभाषिक र बहुधार्मिक एकता भएको बताएका छन् । तराईका विभिन्न जिल्लाहरूमा देखिएको अशान्त वातावरण र शृङ्खलाबद्ध घटनाहरूले मुलुकको सामाजिक र आर्थिक विचलन हुने भन्दै त्यस्ता घटना रोक्न उनीहरूको माग छ।

    निजी क्षेत्रका नेतृत्वकर्ताहरूले कुनै पनि असहमति वा विभेदलाई सडकबाट नभई वार्ताको टेबलबाट समाधान गर्न आग्रह गरेका छन् । सद्‌भाव बिथोलिँदा एउटा समुदायमात्र होइन, समग्र राष्ट्रको आपूर्ति व्यवस्था, उद्योग, कलकारखाना र आम नागरिकको दैनिक जीवनयापन नै तहसनहस हुने उनीहरूको निष्कर्ष छ।

    महासंघका कार्यवाहक अध्यक्ष सुरकृष्ण वैद्यले तराईमा देखिएको तनावपूर्ण स्थितिलाई साम्य पार्न सबै पक्षलाई संयमता अपनाउन आग्रह गरे । उनले मुलुकको पछिल्लो परिस्थितिमा सबै पक्ष संयम रहेर सामाजिक सद्‌भाव कायम राख्न अग्रसर हुनुपर्नेमा जोड दिए।

    महासंघले आफ्ना मातहतका सबै प्रदेश र जिल्ला/नगर संघहरूलाई स्थानीय प्रशासन, राजनीतिक दल र नागरिक समाजसँग समन्वय गरी सद्‌भाव र्‍याली आयोजना गर्न विशेष निर्देशन दिएको उनको भनाइ छ।

    कार्यवाहक अध्यक्ष वैद्यले भने, ‘शान्ति र सामाजिक सद्‌भाव नै मुलुकको समृद्धि र आर्थिक विकासको मुख्य पूर्वसर्त हो।यस्तो अवस्थामा सबै पक्ष संयम र सतर्क भएर समस्या समाधान गर्न आवश्यक छ।’

    महासंघले सुनसरी लगायतका क्षेत्रमा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । कुनै पनि प्रकारको भ्रम र उत्तेजनामा नलागी परापूर्वकालदेखि कायम भाइचारालाई अझ मजबुत बनाउन वैद्यले सबै सदस्य र उद्यमीहरूलाई आफ्नो क्षेत्रमा नेतृत्वदायी भूमिका खेल्न आग्रहसमेत गरेका छन्।

    त्यस्तै, उद्योग परिसंघका अध्यक्ष विरेन्द्रराज पाण्डेले मुलुकको अर्थतन्त्र अप्ठ्यारोमा रहेको बेला यस्ता घटनाले थप निराशा पैदा गर्ने बताए । सुनसरीको देवानगञ्ज, कप्तानगञ्जबाट सुरु भएको तनावलाई तत्काल शान्ति र सामाजिक सद्‌भाव कायम रहने गरी समाधान रोज्नुपर्ने उनको भनाइ छ।उनले मुलुकको समृद्धि र आर्थिक विकासको मुख्य पूर्वसर्त शान्ति र सामाजिक सद्‌भाव भएको बताए।

    अध्यक्ष पाण्डेले भने,‘शान्ति र सामाजिक सद्‌भाव नै मुलुकको समृद्धि र आर्थिक विकासको मुख्य पूर्वसर्त हो । यस्तो अवस्थामा सबै पक्ष संयम र सतर्क भएर समस्या समाधान गर्नुपर्छ । त्यसमा सरकारको सक्रियता आवश्यक छ।’

    उनले सरकार र सरोकारवाला पक्षलाई उद्योग व्यवसाय सञ्चालनका लागि पूर्ण सुरक्षाको प्रत्याभूति दिलाउन माग गरे । परिसंघले आफ्ना प्रदेश र जिल्ला संघहरूलाई सामाजिक र साम्प्रदायिक सहिष्णुताका लागि सहकार्य गर्न अपिलसमेत गरेको छ।

    नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपालको विविधता नै सबैभन्दा ठुलो शक्ति भएको र यसलाई जोगाउनु सबैको दायित्व भएको बताए । तराईका जिल्लाहरूमा देखिएको असहज परिस्थितिप्रति गहिरो चिन्ता व्यक्त गर्दै अग्रवालले जिम्मेवार व्यवहार गर्न र भ्रामक सूचनाका पछि नलाग्न नागरिकहरूलाई अनुरोध गरे।

    मुलुकमा शान्ति र सद्‌भाव कायम भएमात्रै आर्थिक समृद्धि आउने उनको भनाइ छ । उनले भने, ‘कुनै पनि असहमति मानव जीवन र राष्ट्रिय एकताभन्दा ठुलो हुन सक्दैन । शान्ति, सुरक्षा र जनजीवनलाई सामान्य बनाउन सरकार र स्थानीय प्रशासनले विशेष पहल गर्न आवश्यक छ।’

    उनले व्यावसायिक समुदायले सधैँ आर्थिक समृद्धि र सामाजिक सद्‌भावलाई एकअर्काको पूरक मान्दै आएको बताए । उनले खुला संवाद र पारदर्शी वार्ताका माध्यमबाट समस्याको दीर्घकालीन समाधान खोज्न आग्रह गरे।

    नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले तराईका विभिन्न जिल्लाहरूमा पछिल्लो समय देखिएको अशान्ति र हिंसात्मक गतिविधिप्रति चिन्ता व्यक्त गरे।

    उनले मुलुकको बहुधार्मिक, बहुभाषिक र बहुसांस्कृतिक पहिचानमाथि आँच आउने कुनै पनि कार्य गर्न नहुने बताए । उनले भने, ‘विविधताभित्रको एकता र आपसी सद्‌भाव नै नेपालको ठुलो शक्ति हो । हिंसा, तोडफोड र सामाजिक सद्‌भाव बिगार्ने कार्य राम्रो होइन।’

    अशान्ति र हिंसात्मक गतिविधिले आम नागरिकको दैनिक जनजीवन मात्र नभई उद्योग, व्यवसाय, लगानी र समग्र राष्ट्रिय अर्थतन्त्रमा समेत प्रतिकूल प्रभाव पार्ने उप्रेतीले बताए । यस्ता घटनाले व्यावसायिक वातावरण बिग्रने उनको भनाइ छ।

    नाडाले सरकारलाई शान्ति सुरक्षाको सुनिश्चितता गर्दै व्यावसायिक वातावरणलाई यथाशीघ्र सहज बनाउन माग गरेको छ। उप्रेतीले सबै नेपालीलाई आफ्नो स्थानबाट सकारात्मक भूमिका निर्वाह गरी साम्प्रदायिक सहिष्णुता अझ सुदृढ बनाउन अपिल गरे।

    तराईको वर्तमान तनावले उद्योगीहरूको मनोबल खस्किएको छ । कच्चा पदार्थको ढुवानी, उत्पादित सामानको बजार र श्रमिकहरूको सुरक्षा मुख्य चुनौती बनेका छन्।

    स्थानीय प्रशासनमार्फत शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउनु पर्ने, राजनीतिक र धार्मिक अगुवाहरूसँगको समन्वयमा संवादको थालनी,उद्योग,कलकारखाना र सार्वजनिक सम्पत्तिको सुरक्षा सुनिश्चित हुनुपर्ने उनीहरूको धारणा छ।

    सामाजिक सद्‌भाव बिथोलिएमा मुलुक फेरि द्वन्द्वको भुमरीमा फस्ने र यसले दशकौँसम्म आर्थिक विकासलाई पछाडि धकेल्ने हुनाले सबैलाई संयमित रहन र भाइचारा कायम राख्न उद्योगी व्यवसायीहरूले अपिल गरेका छन्।

    शान्त र समृद्ध नेपालका लागि सद्‌भाव नै एकमात्र विकल्प भएको निजी क्षेत्रको साझा धारणा छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार