Nov 05 2026 | २०८३ कार्तिक २० गते

कांग्रेसले भन्यो– सामाजिक सद्‌भाव बिथोल्ने नेता-कार्यकर्तालाई कारबाही गर्छौँ

कांग्रेसले भन्यो– सामाजिक सद्‌भाव बिथोल्ने नेता-कार्यकर्तालाई कारबाही गर्छौँ

शुक्रवार, श्रावण १५ २०८३
  • काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा भएको घटना र त्यसपछि तराई-मधेसका विभिन्न जिल्लामा उत्पन्न तनावपूर्ण परिस्थितिका सन्दर्भमा नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा शुक्रबार आकस्मिक बैठक बसेको छ।

    पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठकमा सभापति, पदाधिकारी, केन्द्रीय सदस्य, सांसदहरूसहित भौतिक तथा भर्चुअल माध्यमबाट मधेस प्रदेशका मुख्यमन्त्री, जनप्रतिनिधि र विभिन्न तहका नेताहरूको उपस्थिति रहेको थियो।

    images

    बैठकले सुनसरी लगायतका पछिल्ला दुःखद घटनामा ज्यान गुमाएका नागरिकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। साथै घाइते नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

    कप्तानगञ्जको घटनामा सरकारको गैरजिम्मेवारीपन, असंवेदनशीलता र नागरिकमाथि राज्यले अत्यधिक बल प्रयोग गरेकोप्रति कांग्रेसले गम्भीर आपत्ति जनाएको छ।

    नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो भन्नेबारे निष्पक्ष र स्वतन्त्र छानबिनका लागि तत्काल उच्चस्तरीय न्यायिक छानबिन समिति गठन हुनुपर्ने कांग्रेसको अडान छ। कांग्रेसले घाइतेको निःशुल्क उपचार, समुचित व्यवस्थापन र तोडफोड तथा आगजनी भएका धनसम्पत्तिको क्षतिपूर्ति दिलाउन सरकारलाई निरन्तर प्रश्न र खबरदारी गर्ने जनाएको छ।

    नागरिक सुरक्षा, सामाजिक सद्‌भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता पार्टीको पहिलो प्राथमिकता रहेको भन्दै कांग्रेसले यसका लागि जिम्मेवारीपूर्वक पहलकदमी लिने बताएको छ। कांग्रेस नेतृत्वको मधेस प्रदेश सरकार, स्थानीय सरकार र जनप्रतिनिधिलाई सद्‌भाव अभियान तथा सहयोगका लागि विशेष अग्रसरता लिन निर्देशन दिइएको छ

    पार्टीका हरेक तहका समितिलाई वडातहसम्म नै अन्य दल, सामाजिक संस्था र सरकारसँग संवाद गरी सद्‌भाव कायम राख्न नेतृत्वदायी भूमिका खेल्न भनिएको छ।

    सांसद, केन्द्रीय पदाधिकारी र स्थानीय तहका नेताहरूलाई सम्भव भएसम्म आ-आफ्नो जिल्लामा उपस्थित भई समुदाय र घाइतेका परिवारसँग भेट्न निर्देशन दिइएको छ।

    पार्टीका कुनै पनि सदस्यलाई घटनासँग जोडिएका संवेदनशील विषयमा हतारमा प्रतिक्रिया नदिन, सत्यतथ्य बुझेर मात्र धारणा बनाउन र कुनै पनि अफवाह वा उत्तेजनामा नलाग्न भनिएको छ।

    हिंसा र उत्तेजना फैलाउने वा त्यस्ता कार्यमा सरिक हुने जोकोही सदस्यमाथि पार्टीको विधान अनुसार कारबाही हुने कांग्रेसले स्पष्ट पारेको छ।

    12

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार