Nov 05 2026 | २०८३ कार्तिक २० गते

कर्फ्युमा यस्तो देखियो जनकपुर

कर्फ्युमा यस्तो देखियो जनकपुर

शुक्रवार, श्रावण १५ २०८३
  • काठमाडौँ। सुनसरीको देवानगञ्ज घटनाको विरोधमा बिहीबार जनकपुरमा भएको प्रदर्शन साम्प्रदायिक सद्भाव भड्काउनेतर्फ उन्मुख हुन खोजेपछि स्थानीय प्रशासनले लगाएको कर्फ्यु आदेश शुक्रबार पनि जारी गरेको छ। कर्फ्यु लागू भएसँगै यहाँको अवस्था सामान्यतर्फ उन्मुख भएको प्रशासनको भनाइ छ।

    बिहीबार अपराह्न साढे ३ बजेदेखि लागू गरिएको कर्फ्यु आदेशलाई शुक्रबार बिहान दुई घण्टाका लागि खुकुलो बनाइएको थियो। प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले विज्ञप्ति जारी गर्दै स्थानीयवासीको दैनिक जीवन सहज बनाउन दूध, तरकारी, फलफूल तथा खाद्यान्नलगायत अत्यावश्यक वस्तु खरिदका लागि कर्फ्यु आंशिक रूपमा खुकुलो पारिएको बताएका थिए। उनले तोकिएको समयभित्र आवश्यक सामग्री खरिद गरी आफ्नो निवास फर्किन तथा त्यसपछि कर्फ्यु आदेशको पूर्ण पालना गर्न आग्रह गरेका थिए।

    images

    कर्फ्यु खुकुलो भएको समयमा स्थानीयवासी दूध, तरकारी र खाद्यान्न खरिदका लागि बजार तथा चोकमा निस्किएका थिए। तर, पुनः कर्फ्यु लागू भएसँगै जनकपुरका सडक सुनसान बनेका छन्।

    जनकपुरका रामानन्द चोक, पिडारी चोक, जनक चोक, अस्पताल रोड, शिव चोक, भानु चोक, मुजेलिया र फ्याक्ट्री रोडलगायत क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ। सुरक्षा निकायले सडकमा आवतजावत गर्ने सर्वसाधारणको जाँच गर्दै उनीहरूको गन्तव्य र प्रयोजनबारे सोधपुछ गरिरहेको छ। जनकपुरका मुख्य चोकहरूमा सेनाको बाक्लो उपस्थिति देखिएको छ।

    कर्फ्युका कारण प्रादेशिक अस्पताल जनकपुरमा उपचार गराउन आएका तथा डिस्चार्ज भएका बिरामीहरू सवारीसाधनको अभावमा कष्टपूर्ण यात्रा गर्न बाध्य भएका छन्। यस्तै, जनकपुरको प्रमुख धार्मिक स्थल जानकी मन्दिर पनि सुनसान देखिएको छ। सामान्य दिनमा हजारौं भक्तजनको भीड रहने मन्दिरको भित्री र बाहिरी परिसर अहिले खाली छ। विवाहमण्डपको मुख्य प्रवेशद्वारमा समेत ताल्चा लगाइएको छ।

    कर्फ्यु लागू भएसँगै जनकपुरको माहोल शान्त बनेको छ। अत्यावश्यक कामका लागि केही व्यक्ति साइकल र मोटरसाइकलमा फाट्टफुट्ट हिँडेको देखिए पनि अन्य सवारीसाधन सञ्चालनमा छैनन्।

    प्रशासनले जनकपुर उपमहानगरपालिका क्षेत्रभित्र, नगराइन नगरपालिकाको नगराइन चोकसम्म तथा लक्ष्मीनिया गाउँपालिकाको सोहनी–सिनुरजोडा र लक्ष्मीनिया हाटबजारसम्म कर्फ्यु आदेश जारी गरेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार