काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा ४ वटा महाशाखा मात्रै राख्ने प्रस्ताव गरिएको छ । प्रस्तावित सङ्गठन संरचनाअनुसार स्वास्थ्य मन्त्रालयमा अब स्वास्थ्य, खाद्य स्वच्छता तथा औषधि गुणस्तर नियमन महाशाखा, जनस्वास्थ्य समन्वय तथा सूचना प्रविधि महाशाखा, प्रशासन महाशाखा र नीति, योजना तथा अनुगमन महाशाखा मात्रै रहनेछन्।
यसअघि रहेको जनसङ्ख्या व्यवस्थापन महाशाखा खारेज गरिएको छ । यस्तै, १२औँ तहको पद पनि हटाइने भएको छ। नयाँ संरचनामा मन्त्रालयअन्तर्गत स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन इकाई स्थापना गरिने भएको छ
मन्त्रीको निजी सचिवालयमा उपसचिव, शाखा अधिकृत तथा सचिवालयका लागि आवश्यक कर्मचारीको व्यवस्था गरिएको छ।
मन्त्रालयको कार्यक्षेत्रलाई व्यवस्थित बनाउन चार वटा प्रमुख महाशाखा रहने प्रस्ताव गरिएको छ । जसमा नीति, योजना तथा अनुगमन महाशाखा अन्तर्गत नीति, योजना तथा बजेट शाखा, अनुगमन, मूल्याङ्कन तथा अनुसन्धान शाखा तथा चिकित्सा सेवा तथा शिक्षा शाखा रहनेछन्।
प्रस्तावअनुसार स्वास्थ्य, खाद्य स्वच्छता तथा औषधि गुणस्तर नियमन महाशाखा अन्तर्गत स्वास्थ्य संस्था मापदण्ड तथा गुणस्तर नियमन शाखा, आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखा, खाद्य गुणस्तर नियमन शाखा तथा औषधि गुणस्तर नियमन शाखा रहनेछन्।
यस्तै, जनस्वास्थ्य समन्वय तथा सूचना प्रविधि महाशाखा अन्तर्गत स्वास्थ्य समन्वय, जनसङ्ख्या तथा सूचना शाखा तथा सूचना प्रविधि एवं इ–हेल्थ शाखा सञ्चालन हुनेछन् भने प्रशासन महाशाखा गठन गरिने प्रस्ताव भएको छ।
जसअन्तर्गत प्रशासन तथा मानव संशाधन व्यवस्थापन, आर्थिक प्रशासन र कानुन शाखा रहनेछन् । प्रशासन, लेखा, कानुन, कम्प्युटर तथा सहायक कर्मचारीको व्यवस्थासमेत नयाँ संरचनामा समेटिएको छ।
प्रस्तावित सङ्गठन संरचनाको अनुसूची–१–१ अनुसार मन्त्रालयअन्तर्गत कुल एक हजार आठ सय ६ पुल दरबन्दी रहने उल्लेख गरिएको छ।
साथै, दरबन्दी संरचना तथा तेरिज स्वीकृत भएको मितिले तीन वर्षपछि मन्त्रालयमा रहेका राजपत्र अनङ्कित दरबन्दी स्वतः खारेज हुने व्यवस्था पनि प्रस्तावमा समावेश गरिएको छ।



