Nov 05 2026 | २०८३ कार्तिक २० गते

जेनजीपछि जेन अल्फाको प्रदर्शन, किन आक्रोशित छन् उत्तर प्रदेशको यो विद्यालयका विद्यार्थी ?

जेनजीपछि जेन अल्फाको प्रदर्शन, किन आक्रोशित छन् उत्तर प्रदेशको यो विद्यालयका विद्यार्थी ?

बिहिवार, श्रावण १४ २०८३
  • काठमाडौँ । दिल्लीको जन्तरमन्तरमा जेनजी युवाहरूले गरेको प्रदर्शन भारतमा मात्र नभई विश्वभर चर्चाको विषय बनेको थियो ।  सामाजिक सञ्जालमा प्रदर्शनका तस्बिर र भिडियो करोडौँ मानिससम्म पुगेका थिए । ३६ दिनपछि शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामासँगै उक्त प्रदर्शन अन्त्य भएको थियो।

    तर त्यसको प्रभाव भने अझै समाप्त भएको देखिँदैन । यस्तैमा उत्तर प्रदेशको एउटा भिडियो सार्वजनिक भएको छ । फतेहपुर जिल्लाको विजयीपुर ब्लकअन्तर्गत किशनपुर कस्बास्थित सर्वोदय इन्टर कलेजमा गत मंगलबार ठूलो संख्यामा जेन अल्फा विद्यार्थी प्रदर्शनमा उत्रिएका थिए।

    images

    विद्यालयमा बेन्च, पंखा, सफा खानेपानी र शौचालयजस्ता आधारभूत सुविधाको अभावले विद्यार्थीहरू यति समस्यामा परेका थिए कि उनीहरू धर्नामा बस्न बाध्य भए । २८ जुलाईमा विद्यार्थीहरू कलेजको मुख्य गेटमा धर्नामा बसेका थिए।

    यसबिच विद्यालय व्यवस्थापन र स्थानीय प्रहरीले विद्यार्थीहरूलाई सम्झाउने प्रयास गरे पनि उनीहरू आफ्ना मागमा अडिग रहे । हातमा आफ्ना माग लेखिएका प्लेकार्ड र डा. भीमराव आंबेडकरको तस्बिर बोकेका विद्यार्थीहरूले नाराबाजी गर्दै करिब चार घण्टासम्म प्रदर्शन गरे।

    विद्यार्थीहरूले जिल्ला अधिकारी घटनास्थलमा पुगेर आफ्ना माग पूरा गर्ने आश्वासन नदिएसम्म प्रदर्शन जारी राख्ने बताएका थिए । विरोध चर्किएपछि जिल्ला विद्यालय निरीक्षक (डीआईओएस) राकेश कुमार, नायब तहसीलदार नितिन कुमार तथा अन्य प्रशासनिक अधिकारी विद्यालय पुगे।

    विद्यार्थीका माग के थिए ?

    विरोध प्रदर्शनलाई ध्यानमा राख्दै अधिकारीहरू विद्यालय पुग्न बाध्य भए । उनीहरूले विद्यार्थीहरूसँग छलफल गरे र विद्यार्थीहरूले राखेका आठ प्रमुख मागमध्ये सातवटा माग लिखित रूपमा स्वीकार गरे।

    विद्यार्थीका आठ मागमा सफा खानेपानीको व्यवस्था, प्रत्येक कक्षामा चारवटा पंखा, शौचालयको नियमित सरसफाइ, कक्षा ६ देखि ८ सम्मका विद्यार्थीका लागि पर्याप्त फर्निचर, मध्याह्न भोजनको गुणस्तर सुधार, विद्यार्थीसँग दुव्र्यवहार गर्ने शिक्षकविरुद्ध कारबाही, खेलमैदानको सरसफाइ र कलेजमा विज्ञान संकायको मान्यता समावेश थिए

    फतेहपुरका जिल्ला विद्यालय निरीक्षक राकेश कुमारले विद्यार्थीहरूले लिखित रूपमा प्रस्तुत गरेका मागमाथि संवोधन सुरु भइसकेको बताए।

    उनले भने, ‘बालबालिकाले लिखित रूपमा राखेका मागमा विद्युत्, पंखा, पानी र मध्याह्न भोजनसँग सम्बन्धित समस्याहरू थिए । हामीले प्रत्येक कोठामा चारवटा पंखा जडान गरिने, खुला तारको समस्या समाधान गरिने, मध्याह्न भोजनको मेनु सुधार गरिने, कक्षा ६, ७ र ८ का विद्यार्थीका लागि बेन्चको व्यवस्था गरिने तथा वाटर कुलर जडान गरिने जानकारी लिखित रूपमा दिएका छौँ । तत्काल गर्न सकिने कामहरू छिट्टै पूरा गरिनेछन् । यसको जानकारी विद्यार्थीहरूलाई लिखित रूपमा दिइसकिएको छ।’

    जिल्लाधिकारीले के भने ?

    फतेहपुरकी जिल्लाधिकारी निधि गुप्ता वत्सले पनि यस विषयमा बयान जारी गरेकी छन् । उनका अनुसार विद्यार्थीका आठमध्ये सातवटा मागमा तत्काल कारबाही सुरु गरिएको छ । उनले विज्ञान संकायको मान्यतासम्बन्धी माग भने नियमअनुसार प्रयोगशाला निर्माण भएपछि मात्र पूरा गर्न सकिने बताइन्।

    उनले भनिन्, ‘बिहान सर्वोदय इन्टर कलेजमा केही विद्यार्थी आफ्ना मागलाई लिएर भेला भएको सूचना प्राप्त भएको थियो । त्यसपछि डीआईओएस, सम्बन्धित एसडीएम र थाना प्रभारीलाई घटनास्थलमा पठाइएको थियो।’

    उनले थपिन्, ‘विद्यार्थीसँगको छलफलमा उनीहरूका मागहरूबारे जानकारी भयो । खाना, शौचालय र सरसफाइजस्ता विषयसहित पहिलो छवटा मागमा काम सुरु गरिएको छ । विज्ञान संकायको मान्यता दिने मागमा भने प्रयोगशाला निर्माण भएपछि नियमअनुसार कारबाही गरिनेछ।’

    प्राधानाध्यापकले के भने ?

    विद्यालयका प्रधानाध्यापक लालबहादुर सिंहका अनुसार अधिकांश मागमा प्रदर्शनको भोलिपल्टदेखि नै काम सुरु गरिएको छ।

    उनले भने, ‘विद्यार्थीका जे–जस्ता माग थिए, ती पूरा गर्न हामीले अधिकांश काम गरिसकेका छौँ । बाँकी काम पनि जारी छ । विद्यालयमा पहिलेझैँ नियमित कक्षा सञ्चालन भइरहेका छन् र शिक्षकहरूले अध्यापन गरिरहेका छन्।’

    यद्यपि, यो प्रदर्शनको चर्चा सामाजिक सञ्जालमा अझै जारी छ । प्रदर्शनको नेतृत्व गरेका विद्यार्थी अंकुर पनि अनलाइन चर्चाको विषय बनेका छन्।अंकुर यसअघि दिल्लीको जन्तरमन्तरमा भएको जेन जी प्रदर्शनमा पनि सहभागी भएका थिए । सामाजिक सञ्जालमा धेरैले जन्तरमन्तरको अनुभवबाट उनले आफ्नै विद्यालयका विद्यार्थीलाई संगठित गर्न प्रेरणा पाएको अनुमान गरेका छन्।

    फतेहपुरको सरकारी कलेजको यो घटनाले विद्यार्थीहरू आफ्ना अधिकारबारे सचेत हुँदै गएको मात्र नभई व्यवस्थामा सुधार कसरी ल्याउन सकिन्छ भन्नेबारे पनि उनीहरू जानकार हुँदै गएको देखाउँछ।

    यस घटनाले भारतमा जेनजी आन्दोलनपछि नयाँ पुस्ताका विद्यार्थीहरूमा पनि आफ्ना आधारभूत अधिकार, विद्यालयको अवस्था र सार्वजनिक सेवासम्बन्धी प्रश्न उठाउने तथा सामूहिक रूपमा आवाज उठाउने प्रवृत्ति बढिरहेको संकेत गरेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार