Nov 05 2026 | २०८३ कार्तिक २० गते

५ लाख घुस प्रकरण : शुद्धोधनका उपाध्यक्ष चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

५ लाख घुस प्रकरण : शुद्धोधनका उपाध्यक्ष चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बिहिवार, श्रावण १४ २०८३
  • काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होम प्रकाश चौधरी (कुर्मी) विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। गाउँपालिकामा जागिर लगाइदिने बहानामा ५ लाख रुपैयाँ घुस लिएको पाइएको जिकिरसहित आयोगले चौधरी र सोही कार्यमा संलग्न तत्कालीन एमआईएस अपरेटर सुरेश कहारविरुद्ध विशेष अदालत, काठमाडौँमा बिहीबार आरोपपत्र दायर गरेको हो।

    आर्थिक वर्ष २०७९/८० को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गतको 'न्यायिक असमानता विरुद्ध उपाध्यक्ष कार्यक्रम' सञ्चालनका लागि निकालिएको पेस्की रकम घुसका रूपमा प्रयोग भएको पाइएको अख्तियारको भनाइ छ।

    images

    कार्यक्रम सञ्चालन गर्ने जिम्मेवारी पाएका तत्कालीन एमआईएस अपरेटर सुरेश कहारले ६ लाख रुपैयाँ पेस्की लिएका थिए। उक्त रकम खातामा आउनासाथ उनले ५ लाख रुपैयाँ उपाध्यक्ष चौधरीको बैंक खातामा जम्मा गरिदिएको अनुसन्धानबाट खुलेको अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

    कार्यक्रमका लागि पेस्की लिए पनि कुनै काम नगरी आपसमा मिलोमतो गरी घुस/रिसवतका रूपमा उक्त रकम लेनदेन गरेको देखाएको आयोगले जिकिर गरेको छ। चौधरीको बैंक खातामा जम्मा भएको उक्त ५ लाख रुपैयाँ कहारले कार्यालय सहयोगीको नाममा चेक काटी जम्मा गरेको भेटिएको थियो।

    अख्तियारले दुवै प्रतिवादीलाई जनही ५ लाख रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र बिगो बमोजिम जरिवानाको मागदाबी गरेको छ। साथै, घुसवापत लिएको ५ लाख रुपैयाँ जफत गर्न समेत आयोगले माग गरेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार