काठमाडौँ । नेकपा एमालेकी सांसद निता घतानीले माइतीघर मण्डलामा १०३ दिनदेखि शान्तिपूर्ण सत्याग्रहमा रहेकी दीपा नेपालीको माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेकी छन् । प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा सांसद घतानीले एक जना नागरिक तीन महिनाभन्दा बढी समयदेखि सडकमा बस्दा पनि सरकार मौन र उदासिन रहनु लज्जास्पद भएको बताइन्।
‘सरकार, कोठा खाली छ भन्दै दीपा नेपाली १०३ दिनदेखि माइतीघर मण्डलामा सत्याग्रहमा छिन्,’ सांसद घतानीले भनिन्– ‘यो १०३ दिन कुनै सामान्य सङ्ख्या होइन, यो सरकारको मौनता, उदासिनता र असफलताको हिसाब हो । म सरकारलाई सोध्न चाहन्छु, सिंहदरबारबाट माइतीघर मण्डला पुग्न यति कठिन छ र?’
उनले मुलुकको १३ प्रतिशत दलित समुदायको आवाजलाई सरकारले निरन्तर बेवास्ता गरेको भन्दै कडा आक्रोश व्यक्त गरिन् । ‘के १३ प्रतिशत दलित समुदायको आवाज सरकारका लागि सुन्न नपर्ने आवाज हो ?,’ उनले प्रश्न गरिन्, ‘आज पनि उच्च शिक्षा हासिल गर्न सहर आएका दलित विद्यार्थीहरू जातका आधारमा कोठा नपाएर गाउँ फर्कन बाध्य छन् । यही विभेद, अपमान र पीडा विरुद्ध दीपा नेपाली सडकमा छिन्।’
सांसद घतानीले दीपा नेपालीलाई अर्को कुनै दुःखद घटनाको प्रतीक नबनाउन सरकारलाई सचेत गराइन् । उनले भनिन्– ‘के सरकार दीपा नेपालीको आवाज सुन्न कुनै अप्रिय घटनाको पर्खाइमा छ ? एक जना नागरिक १०३ दिनसम्म सत्याग्रहमा बस्दा पनि राज्यको संवेदनशीलता कहाँ छ?’
उनले दीपा नेपालीको अपमान केवल एक व्यक्तिको मात्र नभई सिङ्गो १३ प्रतिशत दलित समुदायको आत्मसम्मान माथिको अपमान भएको उल्लेख गरिन् । सांसद घतानीले सरकारलाई तत्काल दीपा नेपालीसँग संवाद गर्न र उनले उठाएका जायज मागहरू अविलम्ब सम्बोधन गर्न माग गरिन्।



