Nov 05 2026 | २०८३ कार्तिक २० गते

कलाकार सन्तोष पन्तसहित विभिन्न कलाकर्मी सम्मानित

कलाकार सन्तोष पन्तसहित विभिन्न कलाकर्मी सम्मानित

बिहिवार, श्रावण १४ २०८३
  • काठमाडौँ । हास्य कलाकार एवं निर्देशक सन्तोष पन्तलाई ‘हाडा एन्ड पाल हास्य वाङ्मय साधना सम्मान २०८३’ प्रदान गरिएको छ । नेपाल पुलिस क्लबमा आयोजित नेपाल पूर्व प्रहरी कलाकार संघको दोस्रो वार्षिकोत्सव तथा तेस्रो स्रष्टा सम्मान कार्यक्रममा उनलाई सो सम्मान प्रदान गरिएको हो।

    अभिनेत्री तथा नृत्य कलाकार मिथिला शर्माले आफ्नो नृत्य र अभिनय यात्राका गुरुहरूलाई गुरु दक्षिणास्वरूप उनीहरूको नाममा स्थापना गरेको सम्मान हो । प्रहरी महानिरीक्षक दानबहादुर कार्की, पूर्व प्रहरी महानिरीक्षक मोतिलाल बोहरा, अन्य पूर्व प्रहरी महानिरीक्षकहरू लगायतले उक्त सम्मान प्रदान गरे।

    images

    कार्यक्रममा गायक तथा संगीतकार डा. किरण प्रधानलाई ‘गोपाल योञ्जन संगीत साधना सम्मान २०८३’, नृत्यांगना विमल श्रेष्ठ क्षेत्रीलाई ‘राजपाल थापा नृत्य साधना सम्मान २०८३’, साहित्यकार तथा गीतकार उपरथी राजेन्द्र थापालाई ‘चेतन कार्की गीति वाङ्मय साधना सम्मान २०८३’ र अभिनेता तथा नेपाल प्रहरीका पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक अर्जुनजंग शाहीलाई ‘नेपाल पूर्व प्रहरी कला साधना सम्मान २०८३’ प्रदान गरियो।

    सम्मानित व्यक्तित्वहरूको संक्षिप्त जीवनयात्रा र कलात्मक योगदान समेटेर तयार गरिएको भिडियो प्रस्तुति समेत गरिएको कार्यक्रममा कला, संस्कृति तथा संघको गतिविधिमा योगदान पुर्‍याउने विभिन्न व्यक्तित्वलाई मायाको चिनोसमेत प्रदान गरिएको थियो।

    नेपाल पूर्व प्रहरी कलाकार संघकी वरिष्ठ सल्लाहकारसमेत रहेकी मिथिला शर्माले आफ्ना गुरुहरूको स्मृति र योगदानलाई सधैं जीवित राख्ने उद्देश्यले उनीहरूको नाममा सम्मान स्थापना गरेको बताइन् । उनले भनिन्, ‘गुरुहरू चेतन कार्की, गोपाल योञ्जन, राजपाल थापा र ध्रुवरत्न हाडाको गर्विलो इतिहास जीवित राख्ने उद्देश्यले गुरुदक्षिणास्वरूप यो सम्मानको सुरुआत गरेकी हुँ। विगतले अंश माग्दैन ।’ उनले आमा, बुवा र गुरुको ऋण कहिल्यै तिर्न नसकिने धारणा राखिन्।

    कार्यक्रममा संघका संस्थापक छत्रबहादुर गुरुङले नाचगानमा मात्र सीमित नभई नेपालको कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनका लागि पनि यस्ता कार्यक्रम आयोजना गरिँदै आएको बताए । त्यसैगरी प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले यस्ता कार्यक्रमले सेवाबाट अवकाश प्राप्त प्रहरी कर्मचारीलाई समेत प्रहरी परिवारसँग जोडिराख्न महत्त्वपूर्ण भूमिका खेलेको  बताए।

    कार्यक्रममा अभिनेत्री मिथिला शर्माले पनि सरप्राइज प्रस्तुतीका रूपमा आकर्षक नृत्य प्रस्तुत गरेकी थिइन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार