काठमाडौँ । सुपारी, केराउ, मरिच, छोकडा र लसुनसुपारी, पछिल्लो समय तेस्रो मुलुकबाट आयात गरी भारततर्फ तरबुज (खरबुजा) को बीउ तस्करी गर्ने धन्दा तीव्र रूपमा मौलाएको छ।
नेपालमा यसको न त ठुलो व्यावसायिक खपत छ, न त त्यति धेरै आन्तरिक माग नै छ, तर पनि पछिल्ला केही वर्षयता यसको आयात र सीमावर्ती क्षेत्रमा भइरहेको तस्करीले प्रशासनको टाउको दुखाएको छ।
नेपालमा ठुलो व्यावसायिक खपत र उत्पादनको आधार नभए पनि भारत सरकारले लगाएको परिणामात्मक बन्देजको फाइदा उठाउँदै तस्करहरूले अस्वाभाविक आयात गरी भारततर्फ छिराउने गरेका जानकारवाला बताउँछन्।
देशका विभिन्न सीमावर्ती क्षेत्रमा प्रहरीले करोडौँको बीउ बरामद गरिरहँदा भन्सार विभागले भने कानुनी कागजात पुगेर आएका वस्तु रोक्न नमिल्ने जनाउँदै खुला सीमाबाट हुने चोरी–निकासी नियन्त्रण एक्लो भन्सार प्रशासनबाट सम्भव नरहेको स्पष्ट पारेको छ।
पछिल्लो समय देशका विभिन्न सीमावर्ती जिल्लाहरूमा तरबुजको बीउ तस्करीका ठुला घटनाहरू सार्वजनिक भइरहेका छन्।
गत शुक्रबार (साउन ८ गते) मात्रै लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहाबाट नेपाल–भारत सीमामा भन्सार छली लैजान लागेको ११ लाख २० हजार रुपैयाँ बराबरको २८ बोरा (१,१२० केजी) तरबुजको बीउ बरामद गर्यो । प्रहरी देखेपछि तस्करहरू सामान छाडेर फरार भएका थिए भने नजिकैको बेवारिसे गोठलाई गोदामका रूपमा प्रयोग गरी बीउ लुकाइएको रहस्य खुल्न आयो।
त्यस्तै, असार २९ गते झापाको भद्रपुर नगरपालिका–३ मा प्रहरीले छापा मार्दै करिब ३८ टन (९४८ बोरा) खरबुजाको बीउ बरामद गर्यो । स्थानीय भीमलाल सुवेदीको घर भाडामा लिएर राखिएको उक्त गोदामको ताला प्रहरीले फुटाएर सामान जफत गरेको थियो।
प्रहरीले उक्त सामान अवैध दाबी गर्दै भन्सार कार्यालयमा बुझायो, तर सामानका धनी दाबी गरिएका राजेन्द्र थापा मगरले भने आफूसँग खरिददेखि भन्सारसम्मका सम्पूर्ण अनलाइन बिलबिजक सुरक्षित रहेको र आयुर्वेदिक औषधि तथा अन्य प्रयोजनका लागि वैशाख–जेठमै स्टक राखिएको दाबी गर्दै प्रहरीले दादागिरी शैलीमा वैध सम्पत्तिमाथि हस्तक्षेप गरेको गुनासो गरे।
यसअघि पनि यस्ता धेरै घटनाहरू बाहिर आइसकेका छन् । गत असार ८ गते बाराको सिम्रौनगढबाट प्रहरीले १२ हजार ५ सय ६० किलो (३१४ बोरा) खरबुजाको बीउ बोकेको ट्रक नियन्त्रणमा लियो, जसको मूल्य करिब २३ लाख रुपैयाँ थियो । चालकले भन्सार तिरेको वैध कागजात देखाउन नसकेपछि प्रहरीले ट्रक नै खोसेको थियो।
त्यस्तै, जेठ २७ गते रुपन्देही प्रहरीले भैरहवास्थित एक व्यापारीको गोदामबाट २३ लाख ३२ हजार रुपैयाँ बराबरको ३५ बोरा तरबुजको बीउ बरामद गर्यो । सोही दिन रौतहटको सीमा क्षेत्रमा तस्करीको ठुलोे खेप नियन्त्रणमा लिन प्रहरीले ६ राउन्ड अश्रुग्यास समेत प्रहार गर्नु परेको थियो । सुरुमा फर्सीको बियाँ भनिए पनि पछि उक्त वस्तु तरबुजकै बोक्रा छोडाएको बियाँ भएको खुलेको थियो । त्यसअघि २०८२ असोज २२ गते पनि रुपन्देहीबाटै भारततर्फ लैजान लागिएको १ सय २५ बोरा बीउ बरामद भएको थियो।
भारतको परिणामात्मक बन्देज
नेपालका खुला सीमा र भन्सार प्रणालीको कमजोरीको फाइदा उठाउँदै किन अचानक तरबुजको बीउको तस्करी बढेको छ भन्ने विषयको जरो भारतको सरकारी नीतिसँग जोडिएको छ । भारत सरकारले आफ्ना देशका कृषकलाई उत्पादनको उचित मूल्य र बजार संरक्षण गर्ने उद्देश्यले सन् २०२३ को जुनदेखि मगज (तरबुजको बियाँ) को आयातमा परिणामात्मक बन्देज (क्वान्टिटेटिभ भेरियर) लगाएको छ।
भारतमा वार्षिक ६० देखि ६५ हजार टन मगजको खपत हुने भए पनि त्यहाँको घरेलु उत्पादन जम्मा ३५ देखि ४० हजार टन मात्रै छ । अपुग २० देखि २५ हजार टन मगजका लागि भारत सधैँ आयातमा निर्भर रहनुपर्छ । भारतले २०२४ मा केही समयका लागि खुला गरेको थियो।
त्यसयता उद्योगहरूलाई समेत आयात अनुमति दिइएको छैन । भारतभित्र देखिएको यही चर्को अभाव र उच्च मागको फाइदा नेपालका तस्कर र केही व्यापारीहरूले उठाइरहेको जानकार बताउँछन् । विदेशबाट नेपालमा आयात गर्ने र रातारात लुकाएर अवैध तरिकाले भारततर्फ तस्करी गर्ने धन्दा मौलाएको सुरक्षाकर्मी अधिकारीको निष्कर्ष छ।
आयात र खपतमा आकाश–पातालको फरक
राष्ट्रिय आलु, तरकारी तथा मसलाबाली विकास केन्द्रको तथ्यांक अनुसार नेपालमा करिब २५ सय हेक्टर जमिनमा मात्र तरबुज/खरबुजा खेती हुन्छ, जहाँ प्रतिहेक्टर ३० देखि ४० मेट्रिक टनसम्म तरबुज/खरबुजा उत्पादन हुन्छ।
नेपालमा पछिल्ला केही वर्षहरूमा खरबुजा तथा तरबुजको बीउ आयातमा अस्वाभाविक उछाल आएको छ। आर्थिक वर्ष २०७८/७९ यताका वर्षहरूमा बीउ आयातको परिमाण र यसबापत बाहिरिने रकममा बर्सेनि ठुलोे वृद्धि भइरहेको छ। २०७८/७९ मा जम्मा ९९ टन बीउ आयात गर्दा २ करोड ३ लाख रुपैयाँ विदेशिएकोमा त्यसको २०७९/८० मा आयात २८ टनले बढेर १२७ टन पुगेको थियो। सो वर्ष रकम पनि ११ लाख रुपैयाँले बढेर २ करोड १४ लाख रुपैयाँ पुगेको थियो।
त्यसपछिका वर्षहरूमा भने आयातको ग्राफ अझ तीव्र गतिमा उकालो लाग्यो। २०८०/८१ मा अघिल्लो वर्षभन्दा ३७५ टन बढी अर्थात् ५०२ टन बीउ स्वदेश भित्र्याउँदा ९ करोड १३ लाख रुपैयाँ बाहिरियो, जुन रकम अघिल्लो वर्षको तुलनामा ६ करोड ९९ लाख रुपैयाँले बढी हो। यो क्रम २०८१/८२ मा झनै तीव्र बन्यो, जहाँ आयात अघिल्लो वर्षको भन्दा ७८४ टनले बढेर १ हजार २ सय ८६ टन पुग्यो भने रकम पनि १६ करोड ५७ लाख रुपैयाँले बढेर २५ करोड ७० लाख रुपैयाँ पुग्यो।
सबैभन्दा अस्वाभाविक र ठुलो वृद्धि भने २०८२/८३ मा देखिएको छ। यस वर्ष आयात परिमाण अघिल्लो वर्षको तुलनामा १६ गुणाभन्दा बढीले बढेर २० हजार ७ सय ६६ दशमलव ३४ मेट्रिक टन पुगेको छ। यसका लागि देशको ढुकुटीबाट ३ अर्ब ३५ करोड २८ लाख रुपैयाँ बाहिरिएको छ, जुन अघिल्लो वर्षको तुलनामा परिमाणमा १९ हजार ४ सय ८० मेट्रिक टन र रकममा ३ अर्ब ९ करोड ५८ लाख रुपैयाँभन्दा बढीको वृद्धि छ।
नेपालको आन्तरिक बजार वा कृषि क्षेत्रमा यो परिमाणमा खरबुजा/तरबुजको बीउ खपत हुने कुनै आधार, परियोजना वा बजार छैन । यसरी वर्षैपिच्छे अस्वाभाविक रूपमा आयात बढ्नु र अर्बौँ रुपैयाँ बाहिरिनुले कागजी रूपमा मात्र आयात देखाएर उक्त बीउ अवैध रूपमा भारततर्फ छिराउने (तस्करी गर्ने) गरिएको स्पस्ट हुन्छ।
‘अवैध आयात नियन्त्रण भन्सार एक्लैबाट सम्भव छैन’
पछिल्लो समय बजारमा बिलबिजकविना खर्बुजा, तरबुज लगायतका कृषि उपज र अन्य वस्तुहरू छ्याप्छ्याप्ती भेटिन थालेको विषयमा भन्सार विभागले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। तर, खुला सिमानाका कारण हुने चोरी निकासी र अवैध आयातलाई केवल भन्सार प्रशासनले मात्र रोक्न नसक्ने विभागले स्पष्ट पारेको छ।
कुराकानी गर्दै भन्सार विभागका निर्देशक तथा सूचना अधिकारी किशोर बर्तौलेले भन्सारले प्रतिबन्धित वा नियन्त्रित सूचीमा नरहेका वस्तुहरूलाई रोक्न नमिल्ने बताए। बजारमा बिलबिजकबिना खर्बुजा तथा तरबुज बिक्री भइरहेको गुनासो बढेको सन्दर्भमा उनले भन्सार विन्दुमा कागजात पुगेरै सामान भित्रिने गरेको उल्लेख गरे। भारतसँगको खुला सिमानाका कारण हुने चोरी निकासीलाई नियन्त्रण गर्न एक्लो भन्सार कार्यालयले मात्र नसक्ने उनको भनाइ छ।
‘भन्सारले त प्रतिबन्धित लिस्टमा नपरेका वस्तुलाई रोक्दैन, रोक्न पनि मिल्दैन,’ निर्देशक बर्तौलेले भने, ‘खुला सिमानाका कारण हुने चोरी निकासी र आन्तरिक बजारको नियमनका लागि भन्सार मात्र होइन, अन्य नियमनकारी निकाय, सुरक्षा अंग र व्यापारी वर्ग सबैको संयुक्त समन्वय आवश्यक हुन्छ।’
सुपारी, मरिच, केराउ र छोकडाजस्ता वस्त ‘क्वान्टिटेटिभ बियरियर’ (परिणामात्मक बन्देज) को सूचीमा परेको र आवश्यकताअनुसार आयात गर्न अनुमति रहेको उनले बताए । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तोकेको मापदण्ड र कोटाका आधारमा मात्र सरकारले अनुमति दिएपछि यस्ता वस्तुहरूको आयात हुने गरेको उनको भनाइ छ।मन्त्रालयबाट अनुमति लिएर आएका वस्तुहरूलाई भन्सारले रोक्न नमिल्ने तर बजारमा हुने अवैध बिक्रीवितरण रोक्न स्थानीय प्रशासन र बजार अनुगमन गर्ने निकायहरू सक्रिय हुनुपर्ने उनको तर्क छ।
बजारमा अवैध रूपमा भित्रिने सामानहरूको नियन्त्रणका लागि एउटै निकायको प्रयासले मात्र नपुग्ने भन्दै निर्देशक बर्तौले सार्वजनिक, व्यापारी वर्ग र सरकारी निकायहरूबीचको समन्वयात्मक प्रयासबाट मात्रै यस्ता किसिमका अवैध कारोबारलाई निरुत्साहित गर्न सकिने तर्क गरे।



