काठमाडौँ। वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको साङ्घातिक आक्रमणको विरोधमा देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरू ठप्प पारिएका छन्।चिकित्सकहरूको सुरक्षा र कार्यस्थलमा हुने हिंसाको अन्त्यको माग गर्दै स्वास्थ्यकर्मीहरू आन्दोलित भएका हुन्।
मंगलबारदेखि देशभरका सरकारी तथा निजी स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवाबाहेकका सम्पूर्ण सेवाहरू बन्द गरिएका छन्। स्वास्थ्यकर्मीहरूमाथि बारम्बार हुने दुर्व्यवहार र भौतिक आक्रमणका घटना नरोकिएको भन्दै उनीहरूले सेवा नै रोकेर विरोध जनाएका हुन्।
यसैबिच, आन्दोलित चिकित्सकहरूले काठमाडौँको माइतीघर मण्डलामा भेला भई विरोध प्रदर्शन गरेका छन्। प्रदर्शनमा सहभागीहरूले ‘चिकित्सकमाथि हिंसा बन्द गर’, ‘स्वास्थ्य सेवामाथि आक्रमण अन्त्य गर’, ‘डाक्टर सुरक्षित भए मात्र बिरामी सुरक्षित हुन्छन्’ र ‘डाक्टरको सुरक्षा नै जनताको सुरक्षा हो’ जस्ता नारा लेखिएका प्लेकार्डहरू प्रदर्शन गरेका छन्।
साथै, प्रदर्शनकारीहरूले ‘रेस्पेक्ट डाक्टर’, ‘रिजेक्ट भायोलेन्स’ र ‘नो मोर ह्यारेसमेन्ट’ लेखिएका प्लेकार्डमार्फत आफ्नो सुरक्षाको सुनिश्चितता गर्न माग गरेका छन्। नारायणी अस्पतालमा भएको घटनाका दोषीलाई कारबाही र चिकित्सकहरूको कार्यस्थलको सुरक्षाको प्रत्याभूति नभएसम्म आन्दोलन जारी रहने चिकित्सकहरूको भनाइ छ।



