काठमाडौँ। चलचित्र ‘सिन्दुरे जात्रा’को छायांकन औपचारिक रूपमा सकिएको छ।पहिलो र दोस्रो चरण गरी दुई भागमा बाँडेर गरिएको चलचित्रको छायांकन मंगलबार पूरा भएको हो। कुल ४० दिनको मेहेनतपछि छायांकन सम्पन्न भएको जानकारी निर्देशक सरोज पौडेलले दिएका छन्।
छायांकन सकिएपछि आफ्नो धारणा राख्दै निर्देशक पौडेलले धैर्य र मेहेनतका साथ एउटा राम्रो सिनेमा खिच्ने प्रयास गरिएको बताए। यो मेहेनत र लगावका लागि सिङ्गो टिमलाई धन्यवाद दिँदै उनले भने, ‘मङ्सिर ४ गते दर्शकले एउटा राम्रो चलचित्र हलमा हेर्न पाउनु हुनेछ।’
यस चलचित्रको छायांकन गत जेठ १ गते पर्वत जिल्लाको कुस्मा नगरपालिकास्थित आर्थर डाँडाखर्कको रमणीय भूगोलबाट सुरु गरिएको थियो। सुरुवातको १५ दिनको छायांकन सकिएलगत्तै मुख्य अभिनेता विजय बराल घाइते भएपछि केही समयका लागि निर्माण कार्य स्थगित गर्नु परेको थियो। बराल निको भएपछि दोस्रो चरणको छायांकन पूरा गरिएको हो।
‘सिन्दुरे जात्रा’मार्फत निर्देशक सरोज पौडेल र कलाकारद्वय विजय बराल तथा अञ्जना बराइलीले दोस्रो पटक सहकार्य गरेका हुन्। यसअघि यो टिमले नेपाली चलचित्र इतिहासकै सर्वाधिक सफल मानिएको ‘पूर्णबहादुरको सारङ्गी’मा सँगै काम गरिसकेको छ।
सारङ्गी फिल्म्सको प्रस्तुतिमा निर्माण भइरहेको यस चलचित्रमा विजय र अञ्जनाका अलावा विनोद न्यौपाने, रामप्रसाद खनाल, कमलमणि नेपाल, लोकेन्द्र लेखक, भोलाराज सापकोटा, पूर्वमिस नेपाल उषा खड्गी, हिउँवाला गौतम, राकेश खड्का र रजनी गुरुङलगायतका कलाकारहरूको अभिनय रहेको छ।
सबिन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको चलचित्रमा निर्देशक पौडेल स्वयंको कथा छ। चलचित्रका कार्यकारी निर्माता दिनेश खड्का हुन् भने आकाश, सुमन रञ्जित र श्याम मगर सह–निर्माताका रूपमा रहेका छन्।
पदम बहादुर श्रेष्ठ (बाबु) को छायांकन (डीओपी) रहेको यस चलचित्रमा नहकुल खड्काको सम्पादन तथा प्रशान्त सिवाकोटी, रिदम कँडेल र नन्दु परियारको संगीत छ। रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मसले देशव्यापी वितरण गर्ने यो चलचित्र आगामी मङ्सिर ४ गते प्रदर्शनमा आउने छ।



