काठमाडौँ । मुलुकको पछिल्लो परिस्थितिबारे छलफल गर्न आयोजना गरिएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थितिलाई लिएर सञ्चारकर्मीहरूले प्रश्न उठाएका छन्।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पत्रकारहरूले ‘मुख्य व्यवस्थापक (प्रधानमन्त्री) र सुरक्षाको जिम्मेवारी पाएका गृहमन्त्री नै नभएको बैठक कस्तो बैठक हो ?’ हो भन्दै प्रश्न गरेका थिए।
सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै सभापति लामिछानेले यो बैठक सरकारको प्रशासनिक बैठक नभएर राजनीतिक दलका शीर्ष नेताहरूबिचको वैचारिक मन्थन भएको बताए। उनले भने–‘यो बैठक राजनीतिक दलका शीर्ष नेताहरू बस्ने बैठक हो।विद्यमान घटनाक्रमका विषयमा राजनीतिक दलहरूको धारणा र मार्ग निर्देशन के छ भन्ने कुरामा यो केन्द्रित थियो।’
प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थितिबारे उनले थप स्पष्ट पार्दै भने–‘प्रधानमन्त्रीले आफ्नो काम गरिरहनुभएको छ, गृहमन्त्रीले आफ्नो काम गरिरहनुभएको छ । सरकारले गर्ने कार्यका लागि मन्त्रिपरिषद् बैठकहरू भइरहेकै छन्। यो त दलहरूले एउटा जिम्मेवार ढंगले साझा अवधारणा बनाउने थलो हो।’
लामिछानेले बैठकमा सरकारका तर्फबाट जानकारीहरू आइरहेको र आवश्यक पर्दा सरकारले आफ्नो प्रवक्तामार्फत थप स्पष्ट पार्ने बताए। ‘हामी एउटा समीक्षा गर्ने र राजनीतिक रूपमा एक ठाउँमा उभिने विन्दुमा पुग्न खोजेका हौँ,’ उनले भने, ‘प्रधानमन्त्री र गृहमन्त्री नहुँदैमा राजनीतिक दलहरूको गम्भीरता कम हुँदैन।’
सञ्चारकर्मीहरूले ‘प्रधानमन्त्रीले डाक्नुपर्ने बैठकमा उहाँ नै किन नआउनुभएको,’ भनी सोधेको प्रश्नमा लामिछानेले प्रधानमन्त्रीले आफ्नो तर्फबाट गर्नुपर्ने समन्वय र कामहरू गरिरहेको भन्दै बचाउ गरे। उनले अहिलेको संवेदनशील समयमा को उपस्थित भयो वा भएन भन्नेभन्दा पनि दलहरूबिच कस्तो सहमति बन्यो भन्ने कुरा महत्त्वपूर्ण हुने बताए।



