काठमाडौंको बौद्ध, तीनचुलीमा अन्तर्राष्ट्रिय बौद्ध प्रशिक्षण कार्यक्रम थालिएको छ । इन्टरनेशनल बुद्धिस्ट एकेडेमीले आजदेखि भदौ ३ गतेसम्म सञ्चालन गर्ने टिचिङ एण्ड कोर्ष प्रोग्राममा सहभागी हुन विभिन्न देशका भिक्षु–भिक्षुणी तथा धर्ममा रुची राख्ने गृहस्थ विद्यार्थीहरूको सहभागिता रहेको बताइएको छ ।
प्रशिक्षणमा बौद्ध दर्शन, शिक्षा र अभ्याससँग सम्बन्धित विषयमा अध्ययन तथा अनुभव आदान–प्रदान गरिने आयोजकले जनाएको छ। विभिन्न बौद्ध परम्पराबीच शैक्षिक तथा आध्यात्मिक सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको भनिएको छ ।
कार्यक्रममा नेपाल, भारत, भुटान, तिब्बती समुदायका साथै युरोप, उत्तर अमेरिका, अष्ट्रेलिया, पूर्वी र दक्षिण–पूर्वी एसियाका विभिन्न देशबाट आएका शाक्य, काग्यू, निङ्मालगायत विभिन्न तिब्बती बौद्ध परम्पराका भिक्षु–भिक्षुणीहरुको सहभागिता छ ।



