Nov 05 2026 | २०८३ कार्तिक २० गते

सुनसरी घटनामा सुरक्षा अधिकारीमाथि छानबिन र कारबाही गर्न सांसद दीपक साहको माग

सुनसरी घटनामा सुरक्षा अधिकारीमाथि छानबिन र कारबाही गर्न सांसद दीपक साहको माग

सोमवार, श्रावण ११ २०८३
  • काठमाडौँ । प्रतिनिधिसभा सदस्य ई. दीपक कुमार साहले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा सुरक्षा अधिकारीहरूको भूमिकामाथि छानबिन गरी आवश्यक परे निलम्बनसहित विभागीय कारबाही गर्न सरकारसँग माग गरेका छन्।

    सांसद साहले सोमबार गृह मन्त्री सुझन गुरुङलाई भेटेर उनले साउने सोमबारको बोलबम यात्राका क्रममा साउन १० गते राति करिब १० बजे दुई समुदायबीच भएको हिंसात्मक झडपमा ओमप्रकाश मेहताको मृत्यु तथा आठ जना घाइते भएको घटनाले दुःखी र मर्माहत बनाएको उल्लेख गरेका छन्। घाइतेमध्ये अधिकांशलाई गोली लागेको र उनीहरूको विराटनगरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको पनि उनले भेटका क्रममा गृहमनन्त्रीलाई बुझाएको पत्रमा उल्लेख गरेका छन्।

    images

    उनले घटनाले स्थानीय शान्ति, सामाजिक सद्भाव तथा सार्वजनिक सुरक्षामा गम्भीर असर परेको भन्दै स्थानीय बासिन्दाबाट घटनाको रोकथाम, नियन्त्रण तथा परिस्थितिको व्यवस्थापनमा प्रशासन र सुरक्षा निकायले अपेक्षित जिम्मेवारी निर्वाह गर्न नसकेको गुनासो आएको उल्लेख गरेका छन्।

    सांसद साहले प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख (एसपी) तथा जिल्ला प्रहरी कार्यालयका डीएसपीको भूमिकामाथि निष्पक्ष छानबिन गरी आवश्यक देखिए निलम्बनसहित विभागीय कारबाही गर्न माग गरेका छन्।

    त्यस्तै, घटनाको निष्पक्ष, स्वतन्त्र, पारदर्शी र प्रभावकारी छानबिन गरी दोषी जोसुकै भए पनि कानुनबमोजिम कडा कारबाही गर्न, पीडित परिवारलाई तत्काल राहत, उचित क्षतिपूर्ति तथा घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्न पनि उनले सरकारसँग आग्रह गरेका छन्।

    सांसद साहले भविष्यमा यस्ता घटना दोहोरिन नदिन सुरक्षा संयन्त्रलाई थप प्रभावकारी बनाउन, आवश्यक नीति, कानुनी तथा संस्थागत सुधार गर्न र सुनसरीसहित संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्था सुदृढ गरी सामाजिक सद्भाव, धार्मिक सहिष्णुता तथा कानुनी शासन कायम राख्न विशेष सतर्कता अपनाउन गृह मन्त्रालयसँग माग गरेका छन्।

    घटनाको सत्यतथ्य शीघ्र सार्वजनिक भई पीडितले न्याय पाउने र दोषी कानुनी दायरामा आउने विश्वास व्यक्त गर्दै उनले गृह मन्त्रालयबाट तत्काल प्रभावकारी पहल हुने अपेक्षा पनि गरेका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार