काठमाडौँ । केन्द्रमा नेकपा एमाले र नेकपाबिच नयाँ समीकरण बनेपछि नेपाली कांग्रेस नेतृत्वको मधेस प्रदेश सरकार अन्योलमा परेको छ।नयाँ गठबन्धनले मधेस सरकारबारे कुनै स्पष्ट निर्णय नगर्दा मुख्यमन्त्री कृष्ण यादव दबाबमा परेका छन्।
मधेस प्रदेशमा एमाले र नेकपा मिलेर मात्र सरकार बन्न सक्दैन, त्यसका लागि मधेसवादी दलको सहयोग अनिवार्य छ। १०७ सदस्यीय प्रदेश सभामा सरकार बनाउन अहिले भने ५२ सांसद आवश्यक पर्छ, किनकि मधेस प्रदेश सभामा हाल १०३ सदस्य छन्।
हाल एमालेसँग २४ र नेकपासँग १५ गरी गठबन्धनसँग ३९ सांसद मात्र छन्, जुन बहुमतभन्दा १३ सिट कम हो।१२ सांसद रहेको जनमत पार्टी, १–१ सांसद रहेका नेपाल संघीय समाजवादी पार्टी र राप्रपाले साथ दिएमा मात्र यो गठबन्धनको सरकार बन्न सक्छ । तर, जनमत पार्टीले पुनः यो गठबन्धनलाई साथ नदिने संकेत गरेको छ।
यो स्थितिमा सबभन्दा ठुलो दल (२८ सदस्य) जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेसमा निर्णायक बनेको छ। ठुलो दलको हैसियतले जसपा नेपालले सरकारको नेतृत्वमा दाबी गरिरहेको छ।
जसपा नेपालका नेता डा. सुरेन्द्र झाले ठुलो दलको नाताले नेतृत्वमा दाबी स्वाभाविक भए पनि कांग्रेसले सरकार नछाडेसम्म नयाँ प्रक्रिया सुरु हुन नसक्ने बताए । यस्तै, अर्का नेता जितेन्द्र सोनलले वर्तमान सरकारको परिस्थिति नबदलिएसम्म जसपा नेपालले कुनै कदम नचाल्ने स्पष्ट पारे । उनले भने, 'हामी सरकार बनाउनै पर्छ भन्ने दौडमा छैनौँ, अर्को सरकार बनाउने परिस्थिति बनेमा मात्र छलफल गर्छौँ।'
केन्द्रमा कांग्रेस र एमालेबिच कुनै सहमति भए मात्र मधेस सरकारले निरन्तरता पाउन सक्छ । सरकारमाथि संकट गहिरिँदै जाँदा मुख्यमन्त्री कृष्ण यादव भने काठमाडौँ पुगेर पार्टीका शीर्ष नेताहरूसँग छलफल गरिरहेका छन्।
मधेस प्रदेशमा नेपाली कांग्रेसको २२ सिट छ।



