Nov 05 2026 | २०८३ कार्तिक २० गते

पूर्वमुख्यमन्त्री जम्कट्टेललाई प्रश्न : नेकपा पदको प्रलोभनमा सरकारमा जान लागेको हो ?

पूर्वमुख्यमन्त्री जम्कट्टेललाई प्रश्न : नेकपा पदको प्रलोभनमा सरकारमा जान लागेको हो ?

आइतवार, श्रावण १० २०८३
  • काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बागमती प्रदेश संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री शालिकाराम जम्कट्टेलले प्रदेशसभालाई विघटनबाट जोगाउन बाध्यात्मक रूपमा सरकार गठनको प्रक्रियामा सहभागी हुन लागेको बताएका छन्।नेकपा पदको लोभमा परेर नभई प्रदेशसभाको स्थायित्व र मध्यावधि रोक्न सरकारमा सहभागी भएको बताए।

    हालैको राजनीतिक घटनाक्रम र बागमती प्रदेशमा नयाँ सरकार गठनको विषयमा नेकपा सत्ताको लागि मरिहत्ते गर्ने पक्षमा नरहेको उनले बताए । पार्टीभित्रै र कार्यकर्ता तहमा नेकपा सरकारभन्दा बाहिरै बस्नुपर्ने आवाज उठिरहेको बखत सत्ताको दौड भन्दा पनि वर्तमान राजनीतिक परिस्थितिलाई निकास दिन अग्रसर रहेको उनले बताए। पटक- पटकको सरकार परिवर्तनले जनतामा वितृष्णा बढिरहेकाले अब बन्ने गठबन्धनले प्रदेश सभाको कार्यकाल जोगाउने र स्थिरता दिनुपर्ने उनले बताए।

    images

    ‘हामी सरकारमा जान हतारिएका थिएनौँ र छैनौँ पनि । अहिलेको गठबन्धन टिकोस् भन्ने नै हाम्रो चाहना थियो।तर,  अहिलेको अवस्थामा हामी सहभागी नहुने वा समर्थन नगर्ने हो भने प्रदेश सभा नै रहँदैन (विघटन हुन्छ)।त्यसैले यो हाम्रो खुसी भन्दा पनि संवैधानिक स्थिरताका लागि गरिएको बाध्यता हो।’ उनले भने।

    उनका अनुसार नेपाली कांग्रेस र नेकपा (एमाले) बिचको अघिल्लो गठबन्धन भत्किनुमा नेकपाको कुनै भूमिका छैन । कांग्रेस र एमालेका नेताहरू आलोपालो नेतृत्वको सहमतिमा इमानदार हुन नसक्दा अहिलेको अवस्था सिर्जना भएको उनले बताए । नेतृत्व हस्तान्तरणको विषयमा कांग्रेस एमालेबिच असमझदारी बढ्नु नै गठबन्धन टुट्नुको मुख्य कारण देखिएको उनको भनाइ छ । नेकपाले मुख्यमन्त्री दाबी गरिरहेको भए पनि केन्द्रको भागबन्डामा कर्णाली प्रदेश लिनुपर्ने भएपछि बागमती छोड्नुपरेको उनले बताए।

    ‘हाम्रो स्ट्रङ्ली दाबी बागमतीमै थियो । तर पाँच प्रदेशको प्याकेजमा कुरा गर्दा कर्णाली र बागमती मध्ये एउटा रोज्नुपर्ने भयो । अन्ततः कर्णाली हाम्रो भागमा प¥यो । बलियो उपस्थिति रहेको बागमतीमा हामीले एमालेलाई सघाउनुपर्यो’ उनले भने।

    नयाँ सरकार गठनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को साथ अनिवार्य रहेको र राप्रपासँग छलफल गरेर मात्र अगाडि बढ्ने उनले बताए । उनले वर्तमान मुख्यमन्त्री विरुद्ध तत्कालै अविश्वासको प्रस्ताव लैजाने हतारोमा आफूहरु नरहेको पनि स्पष्ट परे।

    ‘मुख्यमन्त्रीले मार्ग प्रशस्त गर्छु भन्नुभएको छ । उहाँसँग विश्वासको मत लिने एक महिनाको समय छ । हामी उत्ताउलो भएर हतार गर्दैनौँ’ उनले भने।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार