काठमाडौँ । कपिलवस्तुमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा गम्भीर घाइते भएका दुवै जनाले उपचारकै क्रममा ज्यान गुमाएका छन्। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार तौलिहवाबाट भैरहवातर्फ जाँदै गरेको भे १ ख ४५५२ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको लु प्र ०१–००४ प ३८५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परेर यशोधरा गाउँपालिका–२ पश्चिम भडेहरका ३० वर्षीय रामबहादुर चाइ र २८ वर्षीय सर्जु चाइ गम्भीर घाइते भएका थिए।उनीहरूलाई तत्काल कपिलवस्तु अस्पताल पुर्याइए पनि उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेको हो।
दुर्घटनापछि बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।



