काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रवक्ता हेमन्तप्रकाश ओली (सुदर्शन) नेपालको अहिलेको अवस्था नवउपनिवेशिक अवस्था रहेको भन्दै दलाल पुँजीवादी व्यवस्थाले ल्याउने नै नवउपनिवेशिक नै भएको बताएका छन्।
४८औँ पुष्पलाल स्मृति दिवसको सन्दर्भमा पुष्पलाल मित्रता केन्द्रले आयोजना गरेको ‘वर्तमान राजनैतिक परिस्थितिमा वामपन्थी दलहरूको भूमिका’ विषयक बिचार गोष्ठीमा बोल्दै ओलीले यस्तो बताएका हुन्।
‘सेना, प्रहरी, अदालत, कर्मचारीतन्त्र उही राखेर हामी विगतमा सरकारमा गएका थियौँ’, उनले भने , ‘अहिले साम्राज्यावदले नेपालको सेना कब्जा गरेर रवि र बालेन (रास्वापा) को मुखौटो लगाएर सरकार अपदस्त गर्यो जसका कारण राष्ट्रिय स्वाधीनताको प्रश्न अगाडि आएको छ।’
ओलीले यस्तो अवस्थामा लुज फोरम निर्माण गरेर सबै अट्ने फोरम निर्माण गर्न तयार हुनुपर्ने बताए।
त्यसका लागि बालेन सरकारका विरुद्ध वैकल्पिक स्वाधीन संयुक्त सरकार बनाउन देशभक्त वामपन्थी मिलेर राजनीतिक सम्मेलन गर्दै सङ्घर्षका कार्यक्रम घोषणा गर्नुपर्ने बताए।



