काठमाडौँ । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ मा कुल ३० अर्ब ३८ करोड ४७ लाख ३२ हजार ४३९ रुपैयाँ आय प्राप्त गरेको छ । प्रदेश सरकारको असार मसान्तसम्मको विवरण अनुसार कुल प्राप्त आयमध्ये प्रदेशको आफ्नै आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोड ८४ लाख ४४ हजार ९ सय ११ रुपैयाँ छ।
बाँकी ठुलो हिस्सा भने संघीय सरकारबाट प्राप्त विभिन्न अनुदान, राजस्व बाँडफाँट र रोयल्टी लगायतका स्रोतबाट जुटाइएको हो।
प्रदेश सरकारको आन्तरिक आयतर्फ सवारी साधन र घरजग्गा रजिस्ट्रेसन करको हिस्सा सबैभन्दा बढी देखिएको छ । विवरण अनुसार सवारी साधन कर बाँडफाँटबाट १ अर्ब ५१ करोड ६२ लाख ३८ हजार २५७ रुपैयाँ र घरजग्गा रजिस्ट्रेसन दस्तुरबापत १ अर्ब ४१ करोड ७८ लाख १५ हजार ८८६ रुपैयाँ सङ्कलन भएको छ।
यसैगरी सवारी चालक अनुमतिपत्र तथा सवारी दर्ता दस्तुरबापत ६३ करोड ३० लाख ६५ हजार ४० रुपैयाँ, दहतर बहतरको बिक्रीबाट ३१ करोड २३ लाख ९५ हजार २६९ रुपैयाँ र अन्य प्रशासनिक सेवा शुल्कबापत १३ करोड १० लाख ९४ हजार ८९ रुपैयाँ आन्तरिक खातामा दाखिला भएको छ । यसका साथै बेरुजु असुलीतर्फ १२ करोड २२ लाख ९२ हजार ६३२ रुपैयाँ सङ्कलन भएको छ।
संघीय सरकारबाट मूल्य अभिवृद्धि कर (भ्याट) बाँडफाँटबापत ८ अर्ब ८९ करोड ४३ लाख ६४ हजार ४४७ रुपैयाँ र वित्तीय समानीकरण अनुदानबापत ८ अर्ब २१ करोड ५३ लाख १९ हजार ३०० रुपैयाँ प्राप्त भएको छ।
त्यसैगरी अन्तःशुल्क बाँडफाँटबाट ३ अर्ब २१ करोड ३९ लाख १९ हजार ८०२ रुपैयाँ, चालु ससर्त अनुदानबाट २ अर्ब ३९ करोड ५५ लाख २९ हजार ४५३ रुपैयाँ र पुँजीगत ससर्त अनुदानबाट १ अर्ब ५५ करोड १४ लाख ८१ हजार २५२ रुपैयाँ प्राप्त भएको छ।
विशेष अनुदान चालुतर्फ ३४ करोड ५ लाख रुपैयाँ, विशेष पुँजीगततर्फ २१ करोड ६७ लाख रुपैयाँ तथा समपूरक अनुदान पुँजीगततर्फ ३९ करोड १७ लाख रुपैयाँ प्रदेश सञ्चित कोषमा दाखिला भएको छ भने पर्वतारोहण र विद्युत रोयल्टीबापत क्रमशः २२ करोड ७१ लाख र १० करोड ३२ लाख रुपैयाँ आम्दानी भएको छ।
आर्थिक वर्षको अन्तिम महिना असारमा मात्रै प्रदेश सरकारको खातामा ३ अर्ब ४४ करोड ७६ लाख ९२ हजार ४८५ रुपैयाँ कुल आय जम्मा भएको छ, जसमा असार महिनामा मात्र सङ्कलित आन्तरिक राजस्व ९० करोड ९ लाख ५९ हजार ३३१ रुपैयाँ छ।



