Nov 05 2026 | २०८३ कार्तिक २० गते

कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी

कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी

बिहिवार, श्रावण ७ २०८३
  • काठमाडौँ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर (निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा.शेखर कोइराला) समूहले पार्टीको वर्तमान अवस्थालाई चिर्दै नयाँ कार्यदिशा तय गर्न भन्दै साउन २९ गतेदेखि राष्ट्रिय भेला गर्ने घोषणा गरेको छ।

    पार्टीका संस्थापक विश्वेश्वरप्रसाद कोइराला (बीपी)को ४४औँ स्मृति दिवसको अवसर पारेर साउन ६ गते प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा भेलाको मिति घोषणा गरिएको हो । भेलाका लागि शुक्रबारदेखि तयारी सुरु गर्ने सो समूहले जनाएको छ।

    images

    भेलाको तयारी कसरी गर्ने ? के–के एजेण्डा पेस गर्ने ? प्रतिनिधि कति बनाउने र छनोटका आधार के बनाउने भन्ने निर्क्यौल गर्न शुक्रबार समूहको बैठक बोलाइएको छ।

    समूहका प्रचार प्रसार संयोजक मीन विश्वकर्माले भेलाले पार्टीलाई वैचारिक र सांगठनिक रूपमा पुनर्जीवन दिने दाबी गर्दै त्यसको तयारी शुक्रबारदेखि गरिने जानकारी दिए । भेलाको तयारीबारे छलफल गरी जिम्मेवारी बाँडफाँट गर्न र बुधबार बीपी स्मृति दिवसमा गरिएको कार्यक्रमको समीक्षा गर्न शुक्रबार समूहको बैठक बोलाइएको उनले बताए।

    ‘शुक्रबार हामी सम्पर्क कार्यालय चुनदेवीमा बैठक बस्छौँ । बैठकले बीपी स्मृति दिवसको कार्यक्रमको समीक्षा गर्छ,’ विश्वकर्माले रातोपाटीसँग भने, ‘राष्ट्रिय भेलाको तयारी, जिम्मेवारी बाँडफाँट, र प्रतिनिधि कसरी छनोट गर्ने भन्ने विषयमा निर्णय लिन्छ।’

    साउन २९ गते सुरु हुने राष्ट्रिय भेला सहभागीको सङ्ख्या र छलफलको गहनतालाई हेरेर २ देखि ३ दिनसम्म लम्बिन सक्ने नेता विश्वकर्माले बताए । ‘साउन २९ गते भेला सुरु हुन्छ । आवश्यकता अनुसार भेला ३० र ३१ गतेसम्म पनि चल्न सक्छ,’ उनले भने, ‘भेलाले पार्टीका लागि एउटा स्पष्ट र नयाँ कार्यदिशा दिने लक्ष्य हामीले राखेका छौँ।’

    भेलामा गम्भीर वैचारिक मन्थन गरिने र विभिन्न प्रतिवेदन प्रस्तुत गरिने जनाइएको छ । विश्वकर्माका अनुसार पार्टीको वर्तमान राजनीतिक लाइन र भावी दिशाबारे राजनीतिक प्रस्ताव, मुलुकको वर्तमान राजनीतिक घटनाक्रम र कांग्रेसको भूमिकाबारे समसामयिक प्रस्ताव, पार्टीले लिनुपर्ने आर्थिक, सामाजिक र राजनीतिक नीतिहरूबारे नीतिगत प्रस्ताव र पार्टीको संरचना र विधानलाई कसरी प्रभावकारी बनाउने भन्नेबारे सांगठनिक र वैधानिक प्रस्ताव पेस गर्ने सो समूहको तयारी छ । ती प्रतिवेदन कसले तयार गर्ने भन्नेबारे शुक्रबारको बैठकले निर्णय लिने नेता विश्वकर्माले बताए।

    समूहले नेता कार्यकर्ताको मनोभावना बुझ्न यसअघि सातै प्रदेशमा भेला गरिसकेको छ।

    राष्ट्रिय भेलामा को–को सहभागी हुने भन्नेबारे मापदण्ड तय गर्न बाँकी रहेको नेता विश्वकर्माले बताए । ‘यो महाधिवेशनजस्तो चुनिएका प्रतिनिधिमात्र आउने कार्यक्रम होइन, यो भेला हो । त्यसैले यसमा सहभागीको सङ्ख्या अलि ठुलो हुन सक्छ,’ विश्वकर्माले भने, ‘त्यसको मापदण्ड तय गर्न बाँकी नै छ । अब हामी बिस्तारै तयारीका कामहरू गर्दै जान्छौँ।’

    सहभागीको मापदण्ड तय भएपछि सोही अनुसार जिल्ला–जिल्लामा केन्द्रीय प्रतिनिधिहरू पठाएर कार्यकर्ता र नेताहरूलाई निमन्त्रणा तथा परिचालन गरिने योजना रहेको विश्वकर्माले बताए।

    भेला काठमाडौँमै आयोजना गरिने निश्चित भएको छ । ठुलो संख्यामा नेता–कार्यकर्ता सहभागी हुने र वर्षातको समय भएकाले काठमाडौँका ठुला ‘इन्डोर’ हलहरूको खोजी भइरहेको विश्वकर्माले बताए । ‘हामी वर्कसप मोडलमा पनि जान सक्छौँ, त्यसैले कस्तो खालको हल चाहिन्छ र कति संख्या अटाउनुपर्छ भन्ने कुरा भोलिको बैठकले तय गरेपछि स्थानको अन्तिम टुङ्गो लाग्नेछ,’ उनले भने।

    भेलाको थप व्यवस्थापन, दस्ताबेज लेखनको जिम्मेवारी बाँडफाँट र समयतालिका निर्धारण गर्न शुक्रबारको बैठकले ठोस निर्णय गर्ने नेता विश्वकर्माले बताए।

    गत पुस अन्तिम साता तत्कालीन केन्द्रीय समितिको सहमतिबिना गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन गरी नयाँ नेतृत्व चयन गरेपछि कांग्रेसमा सुरु भएको विवाद अझै मथ्थर भएको छैन । पार्टीमा एकता कायम गर्ने पटक–पटकका प्रयास विफल भएपछि विशेष महाधिवेशनपछि पार्टीको संस्थापनबाट बाहिरिएको देउवा समूह र नेता डा. शेखर कोइराला समूहले राष्ट्रिय भेला आह्वान गरेका हुन्।

    भेलासम्म पार्टीमा एकता कायम हुन नसकेमा यो भेलाबाट नयाँ पार्टीको जन्म हुन सक्ने सम्भावना रहेको पनि नेताहरू बताउँछन् । बुधबार बीपी स्मृति दिवसमा आयोजित कार्यक्रममा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता डा. शेखर कोइरालासहितले तत्काल सहमतिका लागि सभापति गगन थापाले प्रयास नगरे नयाँ बाटो तय गर्ने र त्यसपछि उत्पन्न हुने परिस्थितिको जिम्मेवारी स्वयं सभापति थापाले लिनुपर्ने बताएका थिए।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार