Nov 05 2026 | २०८३ कार्तिक २० गते

अमेरिका र साउदी अरबबिच ऐतिहासिक आणविक सम्झौता

अमेरिका र साउदी अरबबिच ऐतिहासिक आणविक सम्झौता

बिहिवार, श्रावण ७ २०८३
  • काठमाडौँ । अमेरिका र साउदी अरेबियाले एक ऐतिहासिक आणविक (न्यूक्लियर) सम्झौतामा हस्ताक्षर गरेका छन् । यस सम्झौताले साउदी अरेबियालाई शान्तिपूर्ण उद्देश्यका लागि नागरिक आणविक ऊर्जा कार्यक्रम विकास गर्न सहयोग गर्ने बताइएको छ।

    अमेरिकी ऊर्जा विभागका अनुसार यो शान्तिपूर्ण आणविक सहकार्य सम्झौता हो, जसले साउदी अरबको आणविक ऊर्जा क्षेत्रमा अमेरिकी कम्पनीहरूको ठुलो सहभागिताको बाटो खोल्नेछ । सम्झौताको पूर्ण विवरण सार्वजनिक गरिएको छैन।

    images

    अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार भविष्यमा साउदी अरेबियालाई आफ्नै भूमिमा युरेनियम समृद्ध गर्न अनुमति दिन सकिने व्यवस्था हुन सक्छ । समृद्ध युरेनियमबाट आणविक विद्युत् उत्पादन गर्न सकिन्छ, तर यही प्रविधि आणविक हतियार निर्माणका लागि पनि प्रयोग हुन सक्छ । विशेषज्ञहरूका अनुसार यदि साउदी अरेबियालाई युरेनियम समृद्ध गर्ने अनुमति दिइयो भने यो अमेरिकाले पहिलो पटक यस्तो अनुमति दिएको घटना हुनेछ । यसले पहिले नै अस्थिर रहेको मध्यपूर्व क्षेत्रमा आणविक हतियारको प्रसारको जोखिम बढाउन सक्ने चेतावनी दिइएको छ ।

    अमेरिकी ऊर्जा मन्त्रालयले मुख्य सहकार्य सम्झौतासँगै द्विपक्षीय सुरक्षा सम्झौतामा पनि हस्ताक्षर गरिएको जनाएको छ।विभागका अनुसार यी दुई सम्झौताले दशकौँसम्म चल्ने अर्बौं डलर बराबरको साझेदारीका लागि कानुनी आधार तयार गर्नेछन् । साथै, आणविक अप्रसार  र दुवै देशका रणनीतिक तथा आर्थिक हितलाई अघि बढाउने उद्देश्य राखिएको छ।

    यो सम्झौता ऊर्जा क्षेत्रमा दुई देशबिच लामो समयदेखि रहेको सहकार्यको विस्तार भएको साउदी सरकारले  जनाएको छ । साथै, गत वर्ष नोभेम्बरमा साउदी युवराज मोहम्मद बिन सलमानको वाशिङ्टन भ्रमणपछि यो सहकार्य अझ मजबुत भएको उल्लेख गरेको छ । अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पले यस सम्झौताका लागि साउदी युवराज मोहम्मद बिन सलमानलाई इजरायललाई कूटनीतिक मान्यता दिनुपर्ने सर्त राखेका छैनन्।

    यो सम्झौता अमेरिका र इरानबीचको बढ्दो सैन्य तनावकै बीच सार्वजनिक भएको हो । साउदी अरेबियामा अमेरिकी सैन्य अड्डाहरू रहेका छन्, जसलाई हालै इरानले निशाना बनाएको थियो । साथै, यमनका हुथी विद्रोहीहरूले दुई दिनअघि साउदी अरेबियाविरुद्ध समुद्री नाकाबन्दी घोषणा गरेका थिए।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार