Nov 05 2026 | २०८३ कार्तिक २० गते

कम्युनिस्ट र लोकतान्त्रिक शक्तिबिचको सहकार्य नै परिवर्तनको आधार : केपी शर्मा ओली

कम्युनिस्ट र लोकतान्त्रिक शक्तिबिचको सहकार्य नै परिवर्तनको आधार : केपी शर्मा ओली

बिहिवार, श्रावण ७ २०८३
  • काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट र लोकतान्त्रिक शक्तिको सहकार्य नै परिवर्तनको आधार हुने बताएका छन्।

    नेपालको वामपन्थी तथा लोकतान्त्रिक आन्दोलनका अग्रणी व्यक्तित्वहरू पुष्पलाल श्रेष्ठ र विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको स्मृति दिवसमा भिडियो सन्देश जारी गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।

    images

    त्यसक्रममा अध्यक्ष ओलीले नेपालको सामाजिक र राजनीतिक परिवर्तनमा दुवै नेताको अतुलनीय योगदान रहेको स्मरण गरे।

    अध्यक्ष ओलीले पुष्पलाल श्रेष्ठलाई केवल कम्युनिस्ट पार्टीका संस्थापक महासचिवका रूपमा मात्र नभई इतिहासको नयाँ व्याख्याता र राजनीतिक साहित्यका प्रखर विश्लेषकका रूपमा चित्रण गरे।

    पुष्पलालले राजनीतिक आन्दोलनलाई जनताको दैनिक जीवन, विशेषगरी मजदुर र किसानका समस्यासँग जोड्ने काम गरेको भन्दै शहीद गङ्गालाल श्रेष्ठका भाइ पुष्पलालले आफ्ना दाजुबाट प्राप्त प्रेरणाकै आधारमा जीवनभर परिवर्तनका लागि सङ्घर्ष गरेको ओलीले स्मरण गरे।

    त्यसैगरी, ओलीले बीपी कोइरालालाई बहुआयामिक व्यक्तित्व र नेपाली राजनीतिको शिखर व्यक्तित्वका रूपमा स्मरण गरेका छन् । पुष्पलाल र बीपी कोइराला दुवैले आ–आफ्नो ठाउँबाट मुलुकको रूपान्तरणमा पुर्‍याएको योगदानलाई सम्मान गर्दै उनीहरूका असल कार्यबाट सिक्दै अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्।

    तत्कालीन समयमा निरङ्कुश पञ्चायती व्यवस्था र राजतन्त्र विरुद्ध लोकतान्त्रिक र प्रगतिशील शक्ति मिल्नुपर्छ भन्ने पुष्पलालको नीति सुरुमा स्वीकार नगरिए पनि पछि २०४६ सालमा त्यही नीति नै परिवर्तनको मुख्य आधार बनेको ओलीको भनाइ छ।

    ‘अहिले आन्दोलनले केही धक्का महसुस गरे तापनि अग्रज नेताहरूको दीर्घकालीन सोच, दूरदृष्टि र दृढताबाट प्रेरणा लिएर आन्दोलन फेरि सशक्त रूपमा अगाडि बढ्न सकिन्छ’, ओलीले भने, ‘बीपी कोइरालाको जेल जीवन र पुष्पलालको निर्वासन कालले नेपाली राजनीतिलाई सधैँ ऊर्जा र प्रेरणा प्रदान गरिरहने छ।’

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार