काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीभित्र सामूहिक नेतृत्व र बृहत्तर एकताको आवश्यकता औँल्याएका छन्।
बिपीकाे ४४ औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा डा. महतले सभापति गगन थापाको कार्यशैलीप्रति असन्तुष्टि जनाए । उनले एकलौटी ढङ्गले अघि बढ्न खोजिए आफूहरू कांग्रेसको ‘आत्मा’ सहित अगाडि बढ्ने चेतावनी दिए।
नेता महतले कांग्रेसको परम्परा सामूहिक निर्णय प्रक्रिया र सबैको विचारको सम्मान गर्ने रहेको स्मरण गराए । ‘प्राविधिक रूपमा विशेष अधिवेशनबाट नेतृत्वमा आएका गगन थापाले नेपाली कांग्रेस एक्लै चलाउनुभएको छ, जुन कांग्रेसको संस्कार होइन,’ उनले भने, ‘पार्टी सबैको विचारलाई जोडेर र मन्थन गरेर मात्र अगाडि बढ्न सक्छ।’
१५ औँ महाधिवेशनलाई निष्पक्ष र सबैको सम्मानजनक सहभागिता सुनिश्चित गर्नका लागि उनले ठोस प्रस्ताव अघि सारे।डा. महतले १४ औँ महाधिवेशनबाट निर्वाचित समिति र विशेष महाधिवेशनबाट आएको समितिलाई समायोजन गर्नुपर्ने, वा दुवै पक्षलाई समेटेर एउटा राजनीतिक संयन्त्र बनाउनुपर्ने माग गरे । ‘सबैलाई समेटौँ भन्नु कसरी नाजायज हुन्छ ? बरु सबैलाई बाहिर राखेर एक्लै गर्छौँ भन्नु कत्तिको जायज हो ?’ महतले भने।
आफ्नो प्रस्तावलाई नेतृत्वले नजरअन्दाज गरे गम्भीर परिस्थिति सिर्जना हुने सङ्केत गरे । ‘नेतृत्वले केही दिनमा यो वास्तविकता बुझोस् भन्ने हाम्रो चाहना छ । यदि त्यसो भएन भने कांग्रेसको भौतिक शरीर त्यहाँ रहला, तर आत्मा यहाँ रहनेछ र हामी आत्मासहित अघि बढ्नेछौँ,’ उनले भने।
राजनीतिक एवं सांस्कृतिक सन्दर्भ जोड्दै नेता महतले जननायक बीपी कोइरालाको विचारको चर्चा गरे । ‘ बीपीले राजालाई राख्नुपर्छ भन्नुभएको थियो।अहिले राजा नभए पनि नेपालको मौलिक धर्म, संस्कृति र संस्कारलाई हामीले बचाएर लैजानुपर्छ,’ डा. महतले भने।
अहिले देशको धर्म(संस्कृतिलाई कमजोर बनाउने प्रयास भइरहेको भन्दै उनले सबै धर्मावलम्बीहरूबिचचको एकता सुदृढ गर्न कांग्रेसले नेतृत्वदायी भूमिका खेल्ने बताए।



