Nov 05 2026 | २०८३ कार्तिक २० गते

सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)

सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)

बुधवार, श्रावण ६ २०८३
  • काठमाडौँ । भारतको उत्तरपूर्वी राज्य सिक्किममा निर्माणाधीन सुरुङ भत्किँदा १२ जना मजदुरको मृत्यु भएको छ। सुरुङभित्र मिथेन ग्यास विस्फोटपछि सुरुङको एक भाग भत्किँदा कम्तीमा १२ जना मजदुरको मृत्यु भएको हो।

    घटनापछि सुरुङभित्र फसेका १३ जनाको खोजी तथा उद्धार कार्य अझै जारी रहेको अधिकारीहरूले जनाएका छन्। भारतको राष्ट्रिय विपद् प्रतिक्रिया बल (एनडीआरएफ) का अनुसार दुर्घटना सुरुङभित्र करिब १.५ किलोमिटर भित्र भएको थियो।

    images

    उक्त सुरुङ टिस्टा नदीको पानी जलविद्युत् आयोजनाको टर्बाइनसम्म पुर्याउन निर्माण भइरहेको थियो । यो परियोजना भारत सरकारको स्वामित्वमा रहेको नेसनल हाइड्रोइलेक्ट्रिक पावर कर्पोरेसन (एनएचपीसी) ले निर्माण गरिरहेको हो।

    एनएचपीसीका अनुसार चट्टानभित्र थुनिएको मिथेन ग्यास अचानक बाहिर निस्केर विस्फोट हुँदा बाक्लो धुवाँ र विषालु ग्यास फैलिएको थियो । सिक्किम सरकारले पनि दुर्घटनाको कारण मिथेन ग्यासको दहन भएको जनाएको छ । मिथेन प्राकृतिक रूपमा जमिनमुनि पाइने ग्यास हो।

    सुरुङ खन्ने क्रममा यो बाहिर निस्किएर कुनै स्पार्क वा आगोसँग सम्पर्कमा आए विस्फोट हुनसक्ने सरकारी अधिकारीहरूले बताएका छन् । दुर्घटना हुँदा सुरुङका विभिन्न भागमा २७ जना मजदुर काम गरिरहेका थिए । तीमध्ये दुई जना सुरक्षित रूपमा बाहिर निस्किन सफल भए भने २५ जना सुरुङभित्र फसेका थिए।

    सिक्किमका प्रहरी प्रमुख सोनम डी भुटियाका अनुसार हालसम्म १२ जनाको शव फेला परेको छ भने बाँकी १३ जनाको खोजी जारी छ । प्रहरीले हालसम्म ७ जना मृतकको पहिचान गरेको जनाएको छ । मृतकमध्ये एक जना सिक्किमका स्थानीय बासिन्दा हुन् भने अन्य पश्चिम बंगाल, उत्तराखण्ड र असमबाट आएका श्रमिक रहेका छन् । मृत्युको वास्तविक कारण पोस्टमार्टमपछि पुष्टि गरिने अधिकारीहरूले बताएका छन्।

    एनडीआरएफका अधिकारी मोहसेन शाहेदीका अनुसार बाँकी मजदुरहरू सुरुङको करिब २०० मिटर लामो क्षेत्रमा फसेको अनुमान गरिएको छ । सोही क्षेत्रमा उद्धार टोलीले विशेष खोजी अभियान सञ्चालन गरिरहेको छ । सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले घटनाको छानबिनका लागि विशेष अनुसन्धान टोली गठन गरेका छन्।

    ‘के भयो र कसरी भयो भन्ने पत्ता लगाउन विज्ञहरूको टोली परिचालन गरिएको छ। अनुसन्धानको निष्कर्षका आधारमा आवश्यक कारबाही गरिनेछ,’ उनले पत्रकारहरूसँग भने।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार