Nov 05 2026 | २०८३ कार्तिक २० गते

देउवा निवास जलाउन कांग्रेसकै कार्यकर्ता खटाइएको मिन विश्वकर्माको सनसनीपूर्ण दाबी

देउवा निवास जलाउन कांग्रेसकै कार्यकर्ता खटाइएको मिन विश्वकर्माको सनसनीपूर्ण दाबी

बुधवार, श्रावण ६ २०८३
  • काठमाडौं– नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद र गुटबन्दी उत्कर्षमा पुगेका बेला पूर्वसभापति शेरबहादुर देउवा पक्षका नेता मिन विश्वकर्माले एक सनसनीपूर्ण र गम्भीर खुलासा गरेका छन्।

    गत बर्षको भदौ २४ गते देउवा दम्पत्तीमाथि भएको आक्रमण र उनको बुढानीलकण्ठस्थित निवास जलाउने कार्यमा स्वयं नेपाली कांग्रेसकै कार्यकर्ताहरू खटाइएको दाबी विश्वकर्माले गरेका छन्।

    images

    भर्दा २३ र २४ गते जेनजी विद्रोह भएको थियो। २४ गते देउवा र उनकी पत्नी आरजु राणामाथि बुढानिलकण्ठस्थित निवासमा आक्रमण भएको थियो।

    देउवा समूहमा तीव्र असन्तोष र आन्तरिक रस्साकस्सी कायम रहेकै बेला सतहमा आएको यो विवरणले नेपाली कांग्रेस औपचारिक विभाजनको सङ्घारमा पुगेको प्रस्ट सङ्केत गरेको छ।

    नेता मिन विश्वकर्माका अनुसार देउवा निवास जलाउने र आक्रमणमा संलग्न व्यक्तिहरूलाई नै समानुपातिकको बन्दसूचीमा समावेश गर्न तत्कालीन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले दबाब दिएका थिए।

    कांग्रेसको विशेष महाधिवेशनपछि थापा सभापति र शर्मा उपसभापति छन्।  ‘उहाँहरूले ल्याएको उक्त प्रस्तावलाई देउवाले स्वीकार नगरेपछि नै पार्टी विभाजनको मोडमा पुगेको थियो’, विश्वकर्माको ठोकुवा छ। यति मात्र नभई, भदौ २५ गते सो घटनाको विरोधमा पार्टीका तर्फबाट आधिकारिक विज्ञप्ति जारी गर्न खोज्दा समेत तत्कालीन महामन्त्रीद्वयले नै रोकेको विश्वकर्माको दाबी छ।

    देउवा दम्पत्तीमाथि भएको सांघातिक हमला र निवासमै आगजनी गराउनुमा हालका सभापति गगन थापालगायतको समूहले नियोजित रूपमा भूमिका खेलेको आशंकालाई विश्वकर्माको यस बयानले जोडबल दिएको छ।

    आफ्नै पूर्वसभापतिमाथि पार्टीभित्रकै समूहबाट भएको यस्तो गम्भीर षड्यन्त्रबारेको दाबी र त्यसपछिको राजनीतिक घटनाक्रमले देउवा समूह र संस्थापन पक्षबीचको दूरी कहिल्यै नमिल्ने गरी बढाएको छ। 

    नेता विश्वकर्माको यो पछिल्लो दाबीसँगै नेपाली कांग्रेस अब औपचारिक रूपमा दुई भागमा विभाजित हुने निश्चितप्रायः बनेको राजनीतिक विश्लेषकहरूको भनाइ छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार