काठमाडौँ । प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइका लागि संसदीय सुनुवाइ समिति बैठक आह्वान भएको छ । समितिका सचिवसमेत रहेका राष्ट्रियसभाका सचिव तुलबहादुर कँडेलले सुनुवाइ समिति बैठक मङ्गलवार बिहान ११ बजेका लागि आह्वान भएको र बैठकमा प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तहरूको सुनुवाइ गर्ने कार्यसूची तय भएको जानकारी दिए।
संसदीय सुनुवाइ समिति सचिवालयले प्रस्तावित नामहरू उपर उजुरी आह्वान गरेको थियो । १० दिनको समय राखेर आह्वान गरिएको उजुरीको समय आइतबार सकिएको थियो । तर, आइबार बिदा रहेकाले उजुरी सोमबार साँझ ५ बजेसम्म लिइने र त्यसपछि खोलिने सचिव कँडेलले जानकारी दिए।
संवैधानिक परिषद्को असार १९ गते बसेको बैठकले सर्वोच्च अदालतका रजिस्ट्रार समेत रहेका मोरङका मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेको थियो।
त्यही बैठकले नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक डा.राजीव सुब्बा र गुरु वाग्ले (ओखलढुङ्गा) लाई निर्वाचन आयुक्तमा सिफारिस गरेको थियो । संसदीय सुनुवाइ समितिले तीनै जना विरुद्ध असार २६ गते उजुरी आह्वान गरेको थियो।



