Nov 05 2026 | २०८३ कार्तिक २० गते

गण्डकीका तीन अदालतमा जलेका तीन हजार तीन सय मिसिल पुनः प्राप्ति

गण्डकीका तीन अदालतमा जलेका तीन हजार तीन सय मिसिल पुनः प्राप्ति

आइतवार, श्रावण ३ २०८३
  • कास्की ।  गत वर्ष भदौ २४ गते उच्च अदालत पोखरा, कास्की जिल्ला अदालत र तनहुँ जिल्ला अदालतमा भएको आगजनीका कारण जलेका छ हजार १२६ थान मिसिलमध्ये तीन हजार ३०७ थान मिसिल पुनः प्राप्त भएका छन्।

    उच्च अदालत पोखरामा जलेर नष्ट भएका २५७ मध्ये २५० थान र कास्की जिल्ला अदालतमा नष्ट भएका दुई हजार ६५ थान मिसिलमध्ये एक हजार ९८९ थान मिसिल पुनः प्राप्त भएको उच्च अदालत पोखराले जनाएको छ।

    images

    तनहुँ जिल्ला अदालतमा जलेर नष्ट भएका तीन हजार ८०४ थान मिसिलमध्ये एक हजार ६८ थान पूर्णरुपमा र १५ थान मिसिल आंशिक रुपमा प्राप्त भएको उच्च अदालतका उप–रजिष्ट्रार निलप्रसाद पनेरुले जानकारी दिए।

    जिल्ला सरकारी वकिलको कार्यालय र मुद्दाका सम्बन्धित पक्षबाट पुनः प्राप्त भएका मिसिललाई प्रमाणीकरण गरिएको उनको भनाइ छ । उच्च अदालतका सात, कास्की जिल्ला अदालतका ७६ र तनहुँ जिल्ला अदालतका दुई हजार ७५१ थान मिसिल प्राप्त हुन बाँकी रहेको जनाइएको छ । मिसिलको अध्ययन र प्रमाणीकरणका लागि छुट्टै टोली गठन गरिएको छ।

    “आगलागीका कारण नष्ट भएका मिसिलका कागजात बुझाउन आह्वान गरेको छौँ, चालु मुद्दामा मिसिल नभई फैसलाको प्रक्रिया नै अगाडि बढ्दैन”, उनले भने, “फैसला भइसकेका मुद्दाका पनि मिसिल प्राप्त गरी त्यसको सत्यसत्य छानबिन गरी प्रमाणीकरण गरेर राख्ने गरिएको छ।”

    उनले मिसिल पुनः प्राप्त हुने क्रम जारी रहेकाले सङ्ख्यामा केही घटबढ हुन सक्ने बताए । पुनरावेदनका लागि सर्वोच्च पठाइएका मुद्दाका मिसिल सर्वोच्च अदालतमै जलेका कारण नष्ट भएका उच्च अदालतमा मिसिलको सङ्ख्या थप बढ्ने देखिएको उप–रजिष्ट्रार पनेरुको भनाइ छ।

    आगजनीमा परी नष्ट भएका मिसिल प्राप्तिका लागि सर्वोच्च अदालतले बनाएको मिसिल कागजातको प्राप्ति र प्रमाणीकरणसम्बन्धी निर्देशिकाअनुसार मिसिल पुनः प्राप्त गरिएको हो । गत वर्ष भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा अदालतहरुमा आगजनी हुँदा मुद्दाका मिसिलसहित महत्त्वपूर्ण अभिलेख जलेर नष्ट भएका थिए।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार