काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको पुरानो कार्यकारिणी समितिको बैठक सुरु भएको छ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालसँग एकता गर्नुअघि कायम रहेको जसपा नेपालको कार्यकारिणी समितिको बैठक बसेको हो।
जसपा नेपालको केन्द्रीय कार्यालयमा बसेको बैठकमा लोसपा नेपालसँग भएको एकताको विषयमा छलफल गरिने बताइएको छ । गत पुसमा लोसपा नेपाल र जसपा नेपालबिच एकता भएको थियो । उक्त पार्टीलाई निर्वाचन आयोगले पनि मान्यता दिइसकेको छ । तर पार्टीले पूर्णता पाएको छैन । दुई पार्टीबिच समायोजन, केन्द्रीय समिति गठन लगायतको विषयमा छलफल गर्न बैठक बोलाएको जनाइएको छ।
दुई पार्टीबिच समायोजनका विषयमा कुरा मिलिरहेको छैन । दुवै पार्टीमा आकाङ्क्षी धेरै छन् । उनीहरूलाई कसरी समावेश गर्ने भन्ने विषयमा छलफल गर्न जसपा नेपालको पुरानो कार्यकारिणी समितिको बैठक बसिरहेको सो पार्टीका नेता शैलेन्द्र साहले बताए।
दुवै दलले आ–आफ्नो पार्टीमा सहमति गरी संयुक्त बैठक बसेर समायोजनको विषय टुङ्गो लगाउने सहमति भएको छ । जसपा नेपालको बैठक लगत्तै लोसपा नेपालको पुरानो कार्यकारिणी समितिको बैठक पनि बस्ने बताइएको छ।



