काठमाडौँ । नेपाल टेलिकमको सिमकार्ड (फिजिकल वा ई–सिम) हराएमा वा बिग्रेमा अब अनलाइनमार्फत आवश्यक विवरण भरेर सहज तरिकाले नयाँ सिम लिन सकिने भएको छ । नेपाल टेलिकमले २०८३ साउन १ गतेदेखि यो सेवाको शुभारम्भ गरेको हो।
यसरी हराएको वा बिग्रेको सिमकार्डको सट्टामा नयाँ फिजिकल वा ई–सिम लिन चाहने सेवाग्राहीले esim.ntc.net.np मा लगइन गर्नुपर्नेछ । त्यहाँ रहेको ‘Apply for Lost/Damaged SIM’ मा क्लिक गरेपछि दिइएको निर्देशन अनुसार रजिष्टर गरी आवश्यक विवरण उपलब्ध गराउनु पर्ने टेलिकमले जनाएको छ।
काउन्टरमा प्रतिनिधि पठाएर पनि सिम लिन मिल्ने
अनलाइनमा सम्पूर्ण विवरण भरिसकेपछि ग्राहक स्वयम् काउन्टरमा उपस्थित भएर वा आफ्नो प्रतिनिधिमार्फत उक्त सिमकार्ड लिन सक्छन् । यसका लागि आवश्यक ५० रुपैयाँ काउन्टरमै तिर्नुपर्नेछ।
यदि ग्राहक आफैँ उपस्थित हुन नसकेमा काउन्टरमा आउने प्रतिनिधिको नाम समेत अनलाइन फारममै उल्लेख गर्नुपर्नेछ । काउन्टरमा आउने प्रतिनिधिले आफ्नो परिचय खुल्ने कागजात समेत उपलब्ध गराउनु पर्नेछ । ग्राहकको गोपनीयता र आवश्यक सुरक्षालाई ध्यानमा राखेर यस्तो व्यवस्था गरिएको नेपाल टेलिकमका प्रवक्ता डा. कमल लामिछानेले जानकारी दिए।
हाल esim.ntc.net.np पोर्टलमा नयाँ प्रिपेड ई–सिम लिन, फिजिकल सिमलाई ई–सिम बनाउन, नयाँ फिजिकल सिम लिन र ग्राहक विवरण (केवाईसी) अद्यावधिक गर्नका लागि आवश्यक केवाईसी पोर्टल समेत उपलब्ध छ । यसै पोर्टलमा अहिले हराएको वा बिग्रेको सिमको सट्टा नयाँ सिम लिन सकिने सुविधा थप गरिएको हो।



